विश्व समाचार

ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी

अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

टोलेडो प्रहरी विभागका उपप्रमुखका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई जना व्यक्तिले एकअर्कातर्फ गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।

घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा आयोजना हुँदै आएको वार्षिक सामुदायिक उत्सवको आसपास भएको बताइएको छ । उक्त उत्सवमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरहरूको अवलोकनजस्ता गतिविधि सञ्चालन भइरहेका थिए ।

गोली चलेपछि उत्सवस्थलमा उपस्थित सर्वसाधारणमा त्रास फैलिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार अचानक गोलीको आवाज सुनिएपछि मानिसहरू ज्यान जोगाउन चारैतिर भागेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही दृश्यहरूमा मानिसहरू भागदौड गरिरहेको तथा आपत्कालीन सेवाका कर्मचारीहरूले घाइतेहरूको उद्धार गरिरहेको देखिएको छ ।

घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले आफू साथीहरूसँग सांगीतिक कार्यक्रम हेरिरहेका बेला लगातार गोली चलेको आवाज सुनेको बताउनुभयो । उहाँका अनुसार गोली चलेपछि सबैजना भुइँमा पल्टिएका थिए ।

केही समयपछि उनले आफू नजिकै एक हतियार फालिएको देखेका थिए । उत्सवको सुरक्षाका लागि त्यहाँ खटिएका प्रहरीहरू तत्काल घटनास्थलमा पुगेका थिए ।

ओहायोका गभर्नरले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै गर्मीयामका सामुदायिक उत्सवहरू परिवार र बालबालिकाका लागि सुरक्षित स्थान हुनुपर्ने बताउनुभयो । उहाँले हिंसात्मक घटनाले समुदायमा असुरक्षा र त्रास फैलाउने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धानको अपेक्षा व्यक्त गर्नुभएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि सक्रिय खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ । हालसम्म कसैलाई पक्राउ गरिएको वा घटनाको स्पष्ट कारण सार्वजनिक गरिएको छैन ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.