कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध
थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकलाई १२ जुन (यही जेठ २९ गते) भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ ।
दूतावासले आइतबार सूचना जारी गरी विभिन्न प्रलोभनमा परी कानुनी आधार बिना कम्बोडियामा लुकिछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नुपर्ने अवस्था रहेको सम्बन्धित सबैमा सूचीत गराएको छ ।
दूतावासले भनेको छ, “विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको थियो, तर इमेल, फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा आजसम्म निम्नबमोजिमका नेपाली नागरिकले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको छ ।”
तोकिएका समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकउपर कम्बोडिया सरकारले तहाँको नयाँ कानुनअनुसार अनुसन्धान गरी कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन काराबाससम्मको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ ।
दूतावासले भनेको छ, “यसर्थ, सम्बन्धित सबै नेपाली नागरिकलाई यथाशीघ्र ‘कनेक्टिङ फ्लाइट’सहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिन्छ, साथै, उहाँहरूका परिवारजन तथा आफन्तजनमा यसै सूचनालाई आधार मानी आफ्ना प्रियजनलाई यथाशीघ्र नेपाल फर्काउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ ।”




प्रतिक्रिया राख्नुहोस्