विशेष महाधिवेशनपछि दुई समूहमा विभाजित नेपाली कांग्रेस औपचारिक रुपमै फुटको संघारमा पुगेको छ । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अस्वीकार गर्दै सभापति शेरबहादुर देउवा निकट समूहले समानान्तर गविधि गर्दैआएको छ ।
यसै क्रममा विपी पुत्र डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय आयोजक समिति गठन गरेपछि पार्टी विभाजनको औपचारिकता नै पूराा भएको विश्लेषण हुन थालेको छ ।
साउन १६ गते शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत देउवा समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्दै त्यसको त्यसको संयोजक डा. सशांक कोइरालालाई चयन गरेको हो ।
पत्रकार सम्मेलनमा डा. कोइरालाले जारी गर्नुभएको विज्ञप्तिमा पार्टीलाई ूसबल र सक्षम बनाउने उद्देश्यू ले आफ्नो संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरी राष्ट्रिय भेला आयोजना गरिएको उल्लेख गर्नुभएको छ।
उहाँले पार्टीभित्र एकता कायम गर्न निरन्तर पहल र धैर्यता अपनाइए पनि जिम्मेवार नेतृत्वले त्यसलाई सार्थक बनाउन नसकेको आरोप लगाउँदै पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि, समर्थक र शुभेच्छुकमा बढ्दो चिन्ता र निराशालाई सम्बोधन गर्न भेला आयोजना गर्नुपरेको बताउनुभएको छ।
भेलामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी, महानगर तथा निर्वाचन क्षेत्रका सभापति, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन आह्वान गरिएको छ।
राजनीतिक विश्लेषकहरूले देउवा समूहको यो कदमलाई विशेष महाधिवेशनबाट चयन भएको वर्तमान नेतृत्वप्रति खुला असहमतिको अभिव्यक्ति मात्र नभई पार्टीभित्र समानान्तर राजनीतिक संरचना निर्माणको औपचारिक सुरुआतका रूपमा व्याख्या गरेका छन्।
विशेष गरी संस्थापन इतर पक्षले कांग्रेसको नेतृत्व पुनः कोइराला परिवारलाई केन्द्रमा राख्दै डा. शशांक कोइरालालाई राष्ट्रिय अभियानको नेतृत्व सुम्पिएको सन्देश पनि यसबाट गएको विश्लेषण गरिएको छ।
विशेष महाधिवेशनसँग सम्बन्धित कानुनी विवाद टुंगिए पनि राजनीतिक विवाद भने अझै समाधान हुन सकेको छैन। पछिल्ला दिनमा दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै आएका छन्। बीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले अलग–अलग रूपमा मनाएका थिए, जसले पार्टीभित्रको दूरी अझ प्रस्ट पारेको थियो।
गत असोजमा सभापति देउवा विदेश प्रस्थान गरेपछि तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै देउवा समूहको गतिविधिको नेतृत्व गर्दै आउनुभएको छ।
यही समूहमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू सक्रिय छन् भने नेता शेखर कोइराला पनि समय–समयमा सहभागी हुँदै आउनुभएको छ। शनिबारको पत्रकार सम्मेलनमा भने कोइराला अनुपस्थित हुनुहुन्थ्यो ।
सभापति देउवा साउनभित्रै स्वदेश फर्कने तयारीमा रहनुभएको भए पनि राष्ट्रिय भेलामा उहाँको सहभागिताबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन।
देउवा समूहले समानान्तर आयोजक समिति गठन गरी राष्ट्रिय भेला आह्वान गरेपछि नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ।
संस्थापन इतरपक्षले समानान्तर समिति गरेर राष्ट्रिय भेलाको औपचारिक घोषणा गरेपछि पार्टी विधिवत् विभाजनतर्फ अघि बढेको भन्दै नेपाली राजनीतिक वृत्तमा चासो बढाएको छ।
अब दुवै पक्षबीच राजनीतिक सहमति हुने वा पार्टी विभाजन हुने यो भविष्यले देखाउनेछ । यद्यपि विभाजन रोक्न जस्तोसुकै त्याग गर्न तयार रहेको बताउँदै आउनुभएका सभापति गगन कुमार थापामाथि ठूलो चुनौति थपिएको छ ।




प्रतिक्रिया राख्नुहोस्