राजनीति

हुम्ला र बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न निर्देशन

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता, प्रशासन र सम्बन्धित निकायबीच बृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभएको हो ।

छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन) मा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा आएको जानकारी दिनुभयो । साथै, बैठकमा उपस्थित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी दिनुभयो ।

महानिरिक्षक कार्कीले प्रहरीसँग प्रयाप्त स्रोतसाधानको अभाव भएकाले अस्थायी संयुक्त सुरक्षा वेस बनाउन गृहकार्य भइरहेको बताउनुभयो ।

उहाँले घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रक्रिया तीव्र रुपमा अगाडि बढेको बताउनुभयो । सशस्त्र प्रहरी बल महानिरिक्षक नारायणदत्त पौडेलले भौगोलिक रुपमा हुम्ला र बाजुराको सिमानामा पर्ने उक्त थलो निकै दुर्गम भएको बताउनुभयो ।

बैठकमा सांसद्, नारायणदत्त मिश्र, रोशनी मेचे, श्रीकृष्णप्रसाद अधिकारी, सोनाम गेल्जेन शेर्पा, किरणबाबु श्रेष्ठ, धर्मेन्द्र पासवानले सीमा विवादका कारण उब्जिएको विवादलाई छिटो र दीर्घकालीन रुपमा समाधान गर्न सुझाव दिनुभएको थियो ।

जेठ ३ गते बाजुराको हिमाली गाँउपालिका–३ लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयबीच विवाद सुरु भएको थियो । विवादमा कुटपिट र झडप हुँदा स्थानीय घाइतेसमेत भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.