जन सरोकार

सबैले सिक्नुपर्ने काम : लकडाउनमा परेकालाई सामाजिक काम अनि राहत

संकटका बेला निम्नवर्गहरु निक समस्यामा पर्छन् र यस्तो बेला उनीहरुलाई राहत दिनेको संख्या धेरै हुन्छ तर त्यसले लामो समयसम्म धान्न सक्दैन । त्यसैले लकडाउनका कारण भोकमा परेकाहरुलाई घरघरमा गएर चामलका पोका पुर्याउनुभन्दा उनीहरुलाई केही न केही सामाजिक काममा लगाएर त्यसको बदलामा राहत दिंदा त्यसले दोहोरो लाभ हुने भन्दै कास्की बेगनासका युवाहरुले अभियान सुरु गरेका छन् ।

बिहान–बेलुका छाक टार्न समस्यामा परेका सर्वसाधारणलाई यहाँका युवाको सामूहिक प्रयासमा सामाजिक काममा लगाउँदै राहत वितरण गरिएको छ । राज्यका तर्फबाट उपलब्ध गराइएको राहतले केही दिन भरथेग गरे पनि लगातारको बन्दाबन्दीका कारण काम गर्न नपाउँदा दैनिकी सञ्चालनमा समस्या परेका मजदुरलाई लक्षित गरी पोखरा महानगरपालिका–३१ बेगनासका युवाले सामाजिक काममा लगाउँदै राहत वितरण गरेका हुन् ।

बेगनास युवा क्लबका संस्थापक सदस्य पुरुषोत्तम अधिकारीका अनुसार बेगनास र आसपासमा बसी दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका सर्वसाधारणमा परेको समस्यालाई दृष्टिगत गरी राहत वितरण गरिएको हो । राज्यका तर्फबाट उपलब्ध गराइएको राहतले मजदुरलाई मुस्किलले दुई÷चार दिनलाई भरथेग गरे पनि लगातारको बन्दाबन्दीका कारण उनीहरू समस्यामा परेपछि सामाजिक काममा लगाउँदै राहत उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

“क्लबका सदस्यसहित बेगनास तालका सम्पूर्ण युवालाई समेटेर खाना पाइएन भन्नेका लागि सामाजिक काममा लगाउँदै राहतस्वरुप खाद्य सामग्री दिने अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “यत्तिकै राहत दिँदा अनावश्यक मानिसले पनि आएर लैजाने प्रबृत्ति बढेका कारण कामसँगै राहतको नीति लिइएको हो ।” विगतमा बेगनास वरपर मात्र नभई बाहिरका स्थानमा पनि यहाँका युवाले राहत वितरण गरेको उहाँले बताउनुभयो ।

स्थानीय युवाले एकापसमा पैसा उठाउनुका साथै विदेशबाट सहयोग जुटाएर राहत सहयोग उपलब्ध गराएका छन् । यहाँका स्थानीय युवा विगत डेढ महिनायता विपन्न मजदुर तथा असहायको सहयोगमा जुट्दै आएका छन् । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि बन्दाबन्दी शुरु गरिएसँगै पहिलोपटक यहाँका युवाले पोखरा महानगरपालिका–३१ परिसरलाई स्यानिटराइज गरेका थिए ।

पहिलोपटक वडा स्यानिटाइजका लागि वडालाई औषधि हस्तान्तरण गरिएको बेगनास युवा क्लबका उपाध्यक्ष एवं ‘बेगनास तालका स्थानीय युवाद्वारा राहत वितरण’ अभियानका संयोजक निराजन बरालले जानकारी दिनुभयो । वडामा स्यानिटाइज सकेपछि वैशाख २८ देखि लगातार चार दिनसम्म बन्दाबन्दीका कारण दैनिकी समस्यामा परेका व्यक्तिका लागि एक हजार ४२२ छाक खाना पकाएर उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

बन्दाबन्दीका कारण बिहान–बेलुका छाक टार्न धौधौ भएका सर्वसाधारणलाई दैनिक दुई तीन घण्टा बेगनास ताल र आसपासमा सरसफाइमा लगाएर कामसँगै राहत उपलब्ध गराइएको अभियानका सहसंयोजक सुरेन्द्रकुमार पुनले जानकारी दिनुभयो । सामाजिक काममा लगाउँदै राहत उपलब्ध गराउने अभियानअन्तर्गत हालसम्म यहाँका २४० जनालाई राहत प्रदान गरिएको छ । राहतस्वरुप प्रतिव्यक्ति १० किलोग्राम चामल, एक किलोग्राम दाल, आधा लिटर तेल, साबुन, नुन, सोयाविन आदि प्रदान गरिएको छ ।

संयोजक बरालका अनुसार यहाँका युवाको एकताबद्ध प्रयासका साथै राहत सहयोगका लागि विदेशमा रहेका युवाले महत्वपूर्ण सहयोग गरेका छन् । अमेरिकामा रहेका कृष्ण सुनारले अभियानका लागि रु ५० हजार सहयोग गर्नुभएको छ भने अष्ट्रेलियामा रहनुभएका सुवास श्रेष्ठले रु २४ हजार बराबरको खाद्यान्न उपलब्ध गराउनुभएको छ । त्यस्तै कामना सेवा विकास बैंकले रु २० हजार, अष्ट्रेलियामा रहनुभएका राजु अधिकारीले रु २० हजारलगायत विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको छ ।

यहाँका युवाको जगरुकता, विदेशमा रहेका युवाको सहयोग आदिको संयोजनले सामाजिक कामसँगै वडामा राहत तथा सहयोग वितरण गर्न सम्भव भएको उहाँले बताउनुभयो । “सामाजिक कामसँगै राहत वितरणले उनीहरूमा सामाजिक उत्तरदायित्वसमेत बहन गराएको छ”, उहाँले भन्नुभयो, “सरसफाइसँगै यहाँको सौन्दर्यकरणमा पनि टेवा पुगेको छ ।”

सम्बन्धित खबर

Back to top button