जन सरोकार

ससुरालीमा बस्ने ज्वाइँद्वारा सासूको हत्या

मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या

अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपाली समेत बस्दै आएका थिए । उनै नेपालीले धारिलो हतियार प्रहार गरेर सासूको हत्या गरेको र उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले जानकारी दिनुभयो ।

बिहान ४ बजे धारिलो हतियारले आक्रमण गरी हत्या गरेको र होहल्ला भएपछि स्थानीयवासीले थाहा पाई अभियुक्तलाई नियन्त्रणमा लिएको मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले जानकारी दिनुभयो ।

हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्रहरी टोली पुगेको छ । प्रहरीले अभियुक्त नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको नायब उपरीक्षक रानाले जानकारी दिनुभयो । रानाका अनुसार पक्राउ परेका नेपालीले आफूले सासूको हत्या गरेको स्वीकार गरेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालुवा, ढुङ्गा लोड गर्ने क्रममा अनटेष्ट ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरले च्याप्दा सोही ट्र्याक्टरमा काम गर्ने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

यसैगरी बुधबार राति नै पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीमा बा१९च ४८०४ नंको स्कोरपियोको ठक्करबाट आठ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा आठ वर्षीय रोशन सुनार रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ढिस्कोले पुरिएर घाइते

तनहुँको भीमाद नगरपालिका–५ स्थित झकासघाटमा ढिस्कोले पुरिएर बुधबार एक जना घाइते भएका छन् । घाइते हुनेमा भीमाद नगरपालिका–८ बस्ने २८ वर्षीय दीपक विक रहेको इलाका प्रहरी कार्यालय भीमादले जनाएको छ ।

सेती नदी किनारमा रहेको झकासघाटमामा बालुवा उत्खनन गर्ने क्रममा ढिस्कोले पुरिएका विकलाई इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीको नेतृत्वमा गएको प्रहरीको टोलीले उद्धार गरेको छ । करिब चार घण्टा लगाएर उद्धार गरिएका विकलाई उपचारका लागि पोखरा पठाइएको रेग्मीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button