जन सरोकार

सङ्कटका बेला विपन्नको साथमा कोमल मनहरु

विगत एक वर्षभन्दा लामो समयदेखि कोरोना भाइरस संक्रमणको महामारीका कारण उत्पन्न संकटमा गरीब मुलुकका विपन्न वर्गलाई विहानबेलुकाको छाकटार्न धौधौ पर्दैआएको छ । यस्तोमा सरकारले उनीहरुलाई राहत दिनुपर्ने भए पनि सहयोगी भावपना भएकाहरु तन, मन, धन सबै खर्च गरेर उनीहरुको सेवा गरिरहेका छन् ।

मनमा सहयोगी भावना र अरुको दुःख अनुभूत गर्नसक्नेहरुलाई यस्तो बेलामा सहयोग गर्न पाउँदा नै आनन्द आउने रहेछ । यस्तै आनन्दको महसुस गर्दै गत वर्षको बन्दाबन्दीमा काठमाडौँ उपत्यकाका विभिन्न ज्याला मजदूरी गर्नेहरूलाई करीब ३५ लाख बराबरको राहत वितरण गरेका एक पाइलटको पहलमा यस वर्ष पनि सहयोगको क्रम जारी रहेको छ ।



यति एयरलाइन्सका पाइलट क्याप्टेन रमेश श्रेष्ठ र उहाँकी श्रीमती लीला मास्केको पहलमा तिन महिनादेखि अनिकाल र भोकमरीमा परेका धादिङको बेनिघाटरोराङ गाउँपालिका–८ स्थित चेपाङ बस्तीमा बुधबार राहत वितरण गरिएको छ । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण स्थानीय सरकारले स्रोत साधनले समेत नभ्याएको स्थितिमा यस्ता सहयोग केही समयका लागि साँच्चिकै राहत हुने गरेका छन् । सो गाउँका १२० परिवारलाई स्थलमै पुगेर चामल दाल, नुन र तेल वितरण गरिएको थियो ।

सो मानवीय कार्यका लागि मोरङको जनता माध्यमिक विद्यालय, विराटनगरको ४३ औँ समूहका सहपाठी पोखरा निवासी वसुधा गुरुङ, संयुक्त राज्य बेलायत निवासी मधु गुरुङ, कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानलगायतको सहयोग रहेको छ । उक्त सङ्ख्यामा राहत वितरण गर्दा करीब रु तिन लाख खर्च भएको श्रेष्ठले राससलाई बताउनुभयो । विमानहरू नचलेका बेला घरमै आनन्दले बस्न पनि सकिन्थ्यो होला तर दिनदुःखीलाई सम्झिएर ती मनकारी पाइलटलाई सायद निद्रा लाग्दैन ।

सो गाउँमा खानेकुरा अभाव भएपछि कोही जङ्गलमा गिट्ठा खोज्न जाने, कोही खोलातिर माछा मार्न जाने तथा कोही टाँकीको मुन्टा र सिस्नु टिपेर छाक टार्न बाध्य भएको समाचार समाचार प्रकाशन भएको थियो । समाचार पढेर श्रेष्ठको मन पग्लियो । अनि सहयोगीहरूबाट खाद्यान्न संकलन गरी वितरणका लागि आफै गाडीको प्रबन्ध गरेर निषेधाज्ञाकै बीचमा हिड्नुभयो । विमान चालकको पास देखाएपछि र राहातको सामन देखेपछि आफूलाई सुरक्षाकर्मी र स्थानीय सरकारले सहजता गरिदने गरेको क्याप्टेन श्रेष्ठले बताउनुभयो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाखदेखि जारी निषेधाज्ञाका कारण मजदुरी गर्न जाने अवस्था नभएको र घरमा खाने अन्न समेत नभएपछि गाउँबासी तिनचार दिनमा एक छाक खोले वा ढिँडो खाने गरेका थिए ।

श्रेष्ठले काठमाडौँ महानगरपालिका–३० को रातोपुलमा स्थापना भएको सुविधा सम्पन्न आइशोलेसन सेन्टरलाई गत महिना रु एक लाख हस्तान्तरण गर्नुभएको थियो । काठमाडौँ महानगरपालिका–३१ भीमसेनगोला निवासी श्रेष्ठको निवास नजिकको श्रीसागर खाद्य स्टोरबाट दैनिक ३०/४० जना मजदूर र विपन्नलाई राहत वितरण भइरहेको छ ।

शुक्रबार ललितपुरको च्यासलदेखि हिँडेर आएका सात महिला र सुकुम्बासी टोलका चार तथा सुत्केरीसहित गरी २५ जना परिवारलाई उहाँले राहात बाँड्नुभयो । पसलबाट राहत बाँड्न थालेपछि बाटोमा हिँड्ने ज्याला मजदुरहरू पनि लाइन लाग्न आउने हुँदा उनीहरूलाई पनि श्रेष्ठले खाली हात पार्नुहुन्न । गत वर्ष ग्याँस अभाव वा काठाडौँबाट गाउँ घर जान खर्च नपाएकाहरूलाई उहाँले कोभिडको जोखिम मोलेर ठाउँ ठाउँमा आफै पुगेर नगदै पनि दिनुभएको थियो । गत वर्ष काठमाडौँका थानकोट, बालाजु, जोरपाटी, भक्तपुरको सूर्यविनायक र ललितपुरका गोदावरीसम्मका विभिन्न स्थानमा आफैले गाडीमा राखेर सामान बाँडेको उहाँको टोलीले यस पटक उक्त मूदरूपमा स्टोरबाट र बढी नै आवश्यकता भएका ठाउँमा आफै पुगेर सामान उपलब्ध गराइदिने गर्नुभएको छ ।

गत वर्षको बन्दाबन्दीको समयमा श्रेष्ठको पहलमा विभिन्न विमान चालक र समाजसेवीको सहयोगमा काठमाडौँमा विभिन्न स्थानका मजदुर, एकल महिला, खुद्रा पसल चलाउनेहरू, अपाङ्गता भएका र विपन्नलाई पटक पटक गरी करीब रु ३५ लाख बराबरको राहत वितरण भएको थियो । शुरुमा क्याप्टेनहरू रमोद श्रेष्ठ र गौरव बोहराको हौसाबाट उहाँले यो अभियान थालनी गर्नुभएको थियो । श्रेष्ठले गोरखा भूकम्पका बेला काभ्रेपलाञ्चोकमा पाँच लाख बराबरको सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button