कर्पोरेट/पर्यटनबिशेष

उद्घाटन भयो, उडान भएन; अन्ततः तीन वर्षपछि पोखराबाट अन्तर्राष्ट्रिय सेवा सुरु

मुलुकको पर्यटन राजधानी पोखराको ‘स्वप्न परियोजना’का रुपमा हेरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन भएपछि मुलुकको पर्यटक क्षेत्रमा फड्को मार्ने अपेक्षा तुषारापत भयो । यहाँबाट केही चार्टर उडान बाहेक अन्तर्राष्ट्रिय उडान हुनै सकेन ।

यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान सञ्चालन गरिएका थिए भने भारतमा एकपटक हवाई एम्बुलेन्समार्फत बिरामी ओसारपसारका लागि उडान गरिएको थियो। तर नियमित अन्तर्राष्ट्रिय सेवा सञ्चालन हुन नसक्दा विमानस्थलको प्रभावकारी उपयोग र औचित्यमाथि निरन्तर प्रश्न उठ्दै आएका थिए।

विमानस्थलको भविष्यमाथि नै चिन्ता व्यक्त भैरहेका बेला अब भने आशा पलाएको छ । विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुने उक्त उडानका लागि टिकट बुकिङ खुला गरिएको छ।

दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्न सफल भएको मानिएको छ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केवल एउटा पूर्वाधार परियोजना मात्र नभई पोखरेलीको दशकौँदेखिको सपना र संघर्षको प्रतिफल भएको बताउनुभयो।

“विमानस्थल निर्माण सम्पन्न भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन,” उहाँले भन्नुभयो, “अब दुबईका लागि नियमित उडान सुरु हुनु पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन, व्यापार तथा आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि हो।”

उहाँका अनुसार २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला भइसकेको छ। इच्छुक यात्रुले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट वा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्नेछन्।

पोखराबाट दुबईसम्म नियमित हवाई सेवा सञ्चालन भएसँगै पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय आवागमनमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। साथै, दुबई हुँदै विश्वका विभिन्न मुलुकमा सहज हवाई पहुँच विस्तार हुने विश्वास पनि गरिएको छ।

श्रेष्ठले पोखराबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सुरुवातलाई केवल हवाई सेवा विस्तारका रूपमा मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा लिनुपर्ने बताउनुभयो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन १ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो। करिब पाँच दशक लामो प्रतीक्षा, पोखरेलीको निरन्तर दबाब, पर्यटन व्यवसायीको पहल तथा विभिन्न चरणका संघर्षपछि निर्माण सम्पन्न भएको यो विमानस्थललाई पोखराको गौरवको आयोजनाका रूपमा हेरिन्छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.