अर्थ

बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका

कञ्चनपुरका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन् ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका नौवटा पालिकाले पनि वडास्तरबाट योजना छनोट गरी पालिकामा सङ्कलन गरिरहेका छन् ।

यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले वडास्तरमा बजेटको सिलिङ पठाएर योजना छनोटको काम अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।

“नगरपालिका कार्यालयमा पनि शाखागत रूपमा योजना छनोट लगायतका काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “तोकिएको समयसीमाभित्र बजेट निर्माणका लागि सक्रियताका साथ लागेका छौँ ।” उहाँले आगामी आवमा कर्मचारीको तलब वृद्धिको व्ययभार थपिएको बताउनुभयो ।

“एक्काइस प्रतिशत तलब कर्मचारीको बढ्दा हाम्रो पालिकामा मात्रै रु तीन करोड व्ययभार थपियो”, उहाँले भन्नुभयो, “असार १० गतेभित्र बजेट ल्याउनेगरी तयारीमा जुटेका छौँ ।” उहाँले बजेट र कार्यक्रम तयार गर्नुअघि सरोकारवालासँग छलफलसमेत गरिने बताउनुभयो ।

चालु आवमा शुक्लाफाँटा नगरपालिकाको बजेट रु ९३ करोड रहेको नगरपालिकाले जनाएको छ । “हामीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलगायतका विषय प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारले बजेट दिएर बनिरहेका योजना पनि पूरा गर्नेतर्फ अग्रसर छौँ ।” उहाँले नगर चक्रपथ निर्माणसमेत भइरहेको बताउनुभयो ।

त्यसैगरी, कञ्चनपुरको जेठो भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले विषयगत शाखा र वडामा बजेटका लागि सिलिङ पठाइएको बताउनुभयो । शाखाहरूमा बजेट निर्माणको काम हुँदैछ भने वडास्तरमा पनि योजना तर्जुमाको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख नेतृत्वमा बैठक बसेर वडाबाट आएका योजना टुङ्गोमा पुर्याएर कार्यपालिकामा अघि बढाउने उहाँले जानकारी दिनुभयो । “शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट बन्ने छ, विभिन्न जनमुखी योजना बजेटबाट सम्बोधन हुनेछ”, उहाँले भन्नुभयो ।

वडा समितिबाट निर्णय भएर आएपछि योजना छनोट, कार्यक्रम प्रस्ताव तथा विषयगत शाखाबाट अध्ययन गरेर बजेट तथा कार्यक्रम तर्जुमाको काम अगाडि बढाइने पालिकाहरूको भनाइ छ । नगरवासीको चाहनाअनुरूपको नीति तथा बजेट पारित गर्ने तयारी भइरहेको उपप्रमुख लेखकको भनाइ थियो ।

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले पनि बजेट निर्माणको काम भइरहेको बताउनुभयो । “दशवटा वडा र विषयगत शाखामा पनि सिलिङ पठाइरहेका छौँ”, चौधरीले भन्नुभयो, “नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेका छौँ ।” उहाँले सुदूरपश्चिम प्रदेशमा पनि प्राथमिकीकरण गरेर बजेट माग गरिएको बताउनुभयो । “पुराना योजना प्राथमिकीकरण गरेर बजेटमा समावेश गर्छौँ”, चौधरीले भन्नुभयो, “अधूरा निर्माणकार्य पूरा गर्नेछौँ ।”

त्यसैगरी, कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशीले वडामा बजेटको सिलिङ पठाएको बताउनुभयो ।

“आगामी असार ८ गते नगरसभा तोकिएको छ, वडा र विषयगत समितिमा योजना छनोटको काम हुँदैछ”, उहाँले भन्नुभयो । कञ्चनपुरमा सातवटा नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटा स्थानीय तह छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.