राजनीति

विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन राजनीतिक नेतृत्वमा सुझबुझ हुनुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउनु सकिने बताउनुभएको छ ।

नागरिकको सवाल, कांग्रेसको पहल भन्ने नाराका साथ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको छलफलमा उहाँले समुदायलाई विपद् सचेतनामा जोड्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

“विपद् विकासको परिधिभित्र पर्दैन, गरिबीको कारणले विपद्को जोखिम क्षेत्रमा बसोबास गरिरहेको अवस्था छ, अनि विपद्कै कारणले गरिबीको चक्रमा फसेको अवस्था छ, यसलाई भोलि नेतृत्वमा जाने मानिसले ध्यान दिनुपर्छ, हामी सरकारमा हुँदा र सरकार बाहिर हुँदा हामी विपद्सम्बन्धी कामलाई प्राथमिकताका साथ ध्यान दिन्छौँ”, उहाँले भन्नुभयो ।

सभापति थापाले पार्टीको सङ्गठनमा आबद्ध नौ लाखभन्दा बढी सदस्यलाई विपद् व्यवस्थापन र पूर्वतयारीका विषयमा सचेत गराइने जानकारी दिनुभयो । “विपद्लाई राजनीतिकरण गर्नुहुँदैन । राजनीतिक अभियानमा विपद्का सरोकार र चासोलाई जोड्दै जिम्मेवार भएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

विपद् जोखिम न्यूनीकरण विशेषज्ञ इञ्जिनियर प्रा डा हरिदर्शन श्रेष्ठले राजनीतिक दलहरूमा विपद् व्यवस्थापनका सन्दर्भमा विपद् व्यवस्थापनमा यथेष्ट नीतिगत व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी नहुँदा समस्या भएको बताउनुभयो । उहाँले गरिबीको रेखामुनि रहेका नागरिक र गरिब वर्गसँगको समन्वयमा कमजोरी भएकालाई सुधार्नुपर्नेमा जोड दिनुभयो ।

अभियान्ता मेरीना रन्जितले विपद्मा कारण ८० प्रतिशतभन्दा बढि महिला र बालबालिका प्रभावित हुने गरेको तथ्य प्रस्तुत गर्दै संस्थागत सामाजिक उत्तरदायित्वको खर्च पूर्वतयारीमा गर्न पाउने व्यवस्था गर्न सुझाव दिनुभयो ।

विपद व्यवस्थापन विज्ञ एवं कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य सचिव मानबहादुर थापाले नेपाल चट्याङको जोखिमका दृष्टिले पाँचौँ र संसारका सबै देशमध्ये सबै किसिमका जोखिमका दृष्टिले १० औँ स्थानमा रहेको जानकारी गराउँदै पूर्वतयारी र विपद् प्रतिकार्यमा नेपालले धेरै सुधार गर्नुपर्ने अवस्था छ भन्नुभयो ।

हरेक वर्ष रु तीन अर्बको क्षति हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै उहाँले २०७२ को भूकम्प अगाडि २१ प्रतिशत र भुकम्पपछि २५ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.