जन सरोकार

लकडाउन खुकुलो भएसँगै सरकारी कार्यालयमा भीड- सडकमा पनि सवारी चाप

सरकारले असार १ गतेबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ भने सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि आजबाट धेरै कार्यालयहरु खुलाउने निर्णय गरेको थियो ।

सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु पूर्णरुपमा खुलेका छन् । कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गनुपर्ने सरकारको निर्णयअनुसार आलोपालो प्रणालीमा काम शुरु भएको छ । सर्वोच्च अदालतसहित देशभरका अदालतमा बन्दाबन्दीको समयमा माहामारीसम्बन्धी र बन्दीका मुद्दा हेरिए पनि अहिले केही सेवा विस्तार गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार बन्दाबन्दीे पूर्णरुपमा नखुलेकाले कर्मचारीको आलोपालो प्रणालीबाट काम शुरु भएको छ । प्रवक्ता ढकालले भन्नुभयो, “कोरोना भाइरसको जोखिम पूर्ण रुपमा कम नभएकाले सावधानी अपनाएर काम गरिनेछ ।”

बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा पनि खुलेका छन् । काठमाडौँ उपत्यकाका टोलटोलका अधिकाशं सहकारी संस्था आजदेखि सञ्चालनमा आएका छन् । संस्था खुले पनि सेवाग्राही भने फाटफुट मात्रै आएका सहकारी सञ्चालकले बताएका छन् । वाणिज्य बैंक र विकास बैंक शाखाहरुमा भने आज सेवा लिन चाहने सेवाग्राहीको भीड देखिन्थ्यो ।

सरकारले सरकारी कार्यालयका साथै शिक्षण संस्थाका कार्यालय ९प्रशासनिक काम मात्र हुने तर पठनपाठन नहुने०, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय खु्ल्ने निर्णय गरेको थियो । सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनको सिटको एक लहरमा एक जना मात्र यात्रु राख्ने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको व्यवस्था मिलाउने, सवारी साधानलाई दैनिक निसङ्क्रमित गर्ने निर्णय सरकारले गरेको थियो ।

टेकुस्थित सवारी परीक्षण केन्दमा थोरै कर्मचारी भएकाले सबै जना कार्यालयमा आएका छन् । जम्मा १६ कार्यरतमध्ये दुई जना उपत्यका बाहिर रहेकाले १४ जना कार्यालयमा उपस्थित भएको प्रमुख मणिराम भुषालले बताउनुभयो । कार्यालयमा सबै कर्मचारी उपस्थित भए पनि आवश्यक दूरी कायम गर्दै स्वास्थ्य सावधानी अपनाइएको उहाँको भनाइ छ । बन्दाबन्दीको अवधिमा पनि थोरै कर्मचारी आउने गरेकामा आजबाट सबै उपस्थित भएका हुन । कर्मचारीमध्ये कोही आफ्नै सवारीसाधनमा र कोही कार्यालयका सवारीमा त नजिकै बसाइँ भएका कर्मचारी हिँडेर आएका छन् । उहाँले भन्नुभयो, “जसलाई जे गर्दा सजिलो हुन्छ हामीले त्यसरी नै मिलाएका छौँ ।”

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले नियमित सेवा सञ्चालनको पहिलो दिन नै सेवाग्राहीको भीड लागेको बताउनुभयो । सरकारको निर्णयानुसार दुई सिफ्टमा कर्मचारी आएर सेवा दिइरहेको उहाँले बताउनुभयो । बन्दाबन्दीका समयमा पनि राहत वितरण, कोभिड–१९ को परीक्षणलगायतका काम भइरहेकाले सेवा दिइरहेको छ । अहिले नियमित सेवाका लागि सबै कर्मचारीलाई बोलाइएको उहाँले बताउनुभयो । महानगरले कर्मचारीले आपसमा र सेवाग्राहीसँग पनि दूरी कायम गरेर सेवा दिन थालेको छ । उहाँले भन्नुभयो, “भीडभाड भएकाले हामीले सकेसम्म दूरी कायम गरेर सेवा दिइरहेका छौँ ।”

राष्ट्रिय मानवअधिकार आयोगले बन्दाबन्दीको समयमा पनि उजूरी दर्ता गर्ने र त्यसको सुनुवाइ गर्दै आएको थियो । त्यस अवधिमा आवश्यकतानुसार मात्रै कर्मचारी आउने गरेका थिए । आयोगका सचिव बेदप्रसाद भट्टराईले आजबाट सबै कर्मचारी दुई सिफ्टमा कार्यालय आउन थालेको बताउनुभयो । कर्मचारी आयोग र आफ्नो सवारीसाधनबाट आइरहेका छन् । उहाँले भन्नुभयो, “अहिले पनि जोखिम पूर्णरुपमा कम नभएकाले आलोपालो प्रणालीमा काम गर्ने व्यवस्था मिलाइएको छ ।”

सिंहदरवारमा बिहान ८ बजेदेखि नै चहलपहल शुरु भएको थियो । कर्मचारी बिहानैदेखि आए पनि नागरिक भने १० बजेपछि आएका थिए । सिंहदरबारको दक्षिण गेटस्थित प्रवेशद्वारमा दिउँसोसम्म भीडभाड निकै देखिएको छ । त्यहाँ खटिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यकर्मीको टोलीले परीक्षण गराएर मात्रै सेवाग्राही प्रवेश गराएका छन् । आइतबारसम्म फाटफुट्ट मात्रै मानिस प्रवेश गर्ने भए पनि सेवाग्राही लाम बसेर स्वास्थ्य परीक्षण गराएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.