प्रदेश

सुदूरपश्चिममा क्वारेन्टिन कथा- कतै बिजोग कतै रहरलाग्दो

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टिनका रूपमा विकास गरेर भारतलगायत विभिन्न ठाउँबाट आएकाहरूलाई व्यवस्थापन गरिरहेका छन् । कैलालीमा विभिन्न पालिकामा स्थापना गरिएका क्वारेन्टाइन मापदण्डअनुसार नहुँदा भने जोखिम पनि बढेको छ ।

स्थानीय पालिकाले मापदण्ड विपरीतका क्वारेन्टिन निर्माण गरेर व्यवस्थापन गरिरहेको जिकिर गरिरहँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमण देखिएकाहरू अधिकांश क्वारेन्टिनमै बसेकाहरू रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताउनुभयो । निर्देशक अवस्थीका अनुसार मापदण्ड विपरीतका क्वारेन्टिन कोरोना सङ्क्रमणको केन्द्र बनेकाले व्यवस्थित बनाउनुपर्छ ।

घोडाघोडी नगरपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालित क्वारेन्टिनको अवस्था दयनीय छ । एउटै कोठामा १५ जनासम्म बसेका छन् । क्वारेन्टिन स्थलमा शौचालय नहुँदा राति बाहिर गएर शौचालय गर्नुपर्ने बाध्यता छ । शुद्ध पिउने पानीको अभाव, विद्युत्, गर्मी जस्ता समस्या क्वारेन्टिनमा रहेको छ । यो घोडाघोडी नगरपालिकाको क्वारेन्टिनको उदाहरण मात्र हो । नगरपालिकाले पालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक भवनलाई प्रयोग गरेर ६५ क्वारेन्टिन बनाएको छ ।

नगरपालिकाले सञ्चालन गरेका एकदुई क्वारेन्टिनबाहेक हरेकमा समस्या छ । क्वारेन्टिनको मापदण्ड पूरा नभएका कारण क्वारेन्टिनबाटै सङ्क्रमण फैलने जोखिम पनि छ । घोडाघोडीमै केही राम्रा व्यवस्थापन भएका क्वारेन्टिन पनि छन् । नगरपालिका वडा नम्बर १० मा रहेको कान्ति माविमा सञ्चालित क्वारेन्टिनमा बसेकाहरू पारिवारिक वातावरणमा बस्न पाएको बताउँछन् । क्वारेन्टिनमा बसेर भर्खरै घर फर्किनुभएका घोडाघोडी–१० का नीरज नेपाली भन्नुहुन्छ, ‘बिहानै चिया खाजा, अनि खाना दिउँसो खाजा, फेरि साँझ खाना खाइन्थ्यो क्वारेन्टिनमा, यस्तो राम्रो व्यवस्थापनमा बस्न पाइएला सोचेकै थिएनाँै’ । स्वयंसेवकहरुको आत्मीय व्यवहारले क्वारेन्टिन बसाइ झनै सजिलो भएको नेपालीको भनाइ छ ।

गौरीगंगा नगरपालिका–९ का तीन विद्यालयमा रहेका क्वारेन्टिन जिल्लाका अरु ठाउँका भन्दा फरक छन् । त्यहाँका क्वारेन्टिनको व्यवस्थापनमा युवाहरू स्वतःस्फूर्त लागेका छन् । हरेक क्वारेन्टिनमा प्रत्येक दिन बिहान योग प्रशिक्षण गराइन्छ । मनोविमर्शकर्ताबाट क्वारेन्टिनमै मर्नोपरामर्श दिइन्छ र प्रत्येक दिन बेलुकी शारीरिक व्यायाम गर्न प्रेरित गरिन्छ । वडामा सञ्चालित क्वारेन्टिन व्यवस्थापनमा लागेका युवाको नेतृत्व गर्नुभएका मिलन ओली ‘विपत्को बेला सबै एकजुट भएर अघि बढ्नुपर्ने हुँदा युवाहरू मिलेर व्यवस्थापन तथा खटनपटनमा लागेका हौँ’भन्नुहुन्छ ।

क्वारेन्टिनमा बसेकाहरूका लागि मनोविमर्शकर्ताबाटै क्वारेन्टिन स्थलमै मनोपरामर्शको व्यवस्थापन गर्ने आफूहरु मात्र भएको जिकिर गौरिगंगा–९ का वडाध्यक्ष हरिप्रसाद तिवारी गर्नुहुन्छ ।

भारतबाट आउने क्रम बढ्नु तथा देशभित्रै अन्य स्थानबाट जिल्ला भित्रिने क्रम वृद्धिले क्वारेन्टिनमा बस्नेको सङ्ख्या एक्कासि बढेपछि मापदण्ड कायम गर्न नसक्दा सामूहिक बसाइले जोखिम बढेको व्यवस्थापनमा लागेकाहरु नै बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.