जन सरोकार

मनसुनको सुरुवातमै देशका अधिकांश क्षेत्र प्रभावित

कतै पहिरो, कतै नदी कटान, राजमार्गहरु अबरुद्ध, उच्च शतर्क रहन आव्हान

यस वर्षको मनसुनको सुरुवातबाटै देशका विभिन्न क्षेत्र प्रभावित बनेको छ । वितेको २४ घण्टायता भैरहेको अविरल वर्षापछि नदी किनारका बस्तीहरु जोखिममा र बजार क्षेत्र डुबानमा परेका छन् भने विभिन्न क्षेत्रका राजमार्गहरु पहिराले अबरुद्ध पारेका छन् ।

प्राप्त समाचार अनुसार अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरुपमा डुबानमा परेको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।

नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यवसायीहरु सुरक्षित स्थानमा सामान सार्न व्यस्त छन् । “पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना समेत डुबाएको छ”, पराजुलीले भन्नुभयो । बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारहरु पनि पूर्ण रुपमा क्षति पुगेको उहाँले बताउनुभयो । पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणी बजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणी बजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधारण त्रसित बनेका हुन् ।

विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो । कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

अबिरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो ।

राजमार्गको बार्जुगाडदेखि मार्तडीका विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राससलाई बताउनुभयो । उहाँका अनुसार बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ ।

उहाँले दिएको जानकारी अनुसार सडक विभागलाई राजमार्गमा आएको पहिरो स्काइभेटर लगाएर पन्छ्याउन लगाएपनि वर्षा नरोकिएकाले बाटो खुलाउन सकिएको छैन ।

बार्जुगाड, बल्दे, अम्कोट, पानीनाउलालगायतका पाँच ठाउँमा पहिरो बग्न नरोकिएकाले राजमार्ग खोल्न तत्काल सम्भव देखिएको छैन । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल राजमार्ग खुलाउन कठिनाइ भएको प्रजिअ अधिकारीको भनाइ रहेको छ ।

जिल्लाका लागि धनगढीबाट खाद्यान्न लिएर आएका ट्रक र ट्याक्टरहरु बेतालमाडौंँमा रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि बिरामीलाई जिल्ला बाहिर लैजान थप समस्या हुने भएको छ भने जिल्लामा खाद्यान्न समेत अभाव हुने देखिन्छ ।

यसैगरी जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध भएको छ । लगातारको वर्षासँगै बाउली खोला र अनै खोलामा पानीको बहाब बढेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मार्तडी–कोल्टी सडकका विभिन्न ठाउँहरुमा पनि स–साना पहिरो खस्ने गरेकाले उक्त क्षेत्रको सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

मार्तडी घटमुना जोड्ने सडक पनि अबिरल वर्षाका कारण अवरुद्ध बनेको छ । बाउली खोलामा पानीको बहाब बढेको र उक्त सडकको विभिन्न ठाउँमा स—साना पहिरो खस्ने गरेकाले सडक अवरुद्ध बनेको हो । गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म जोडिएको उक्त सडकसँगै जिल्लाका अन्य ग्रामीण सडक समेत अवरुद्ध बनेका छन् ।

नहरमा बालुवा भरिँदा विद्युत् सेवा अनियमित

जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ । विद्युत्को नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित हुनुको साथै अवरुद्ध हुने गरेको साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताउनुभयो ।

उहाँका अनुसार विद्युत् सञ्चालनका लागि ल्याएको बाउली खोलामा पानीको बहाब बढ्दै गएकोले नहरमा बालुवा भरिने गरेकाले विद्युत् अवरुद्ध हुने गरेको छ । खोलामा बाँध नबाँधिएकाले अहिले पानीको बहाब बढ्न थालेपछि नहरमा गएर पानी फर्काउने अवस्था नहुँदा विद्युत् अवरुद्ध बनेको व्यवस्थापक पण्डितको भनाइ छ ।

उता डोटीमा सोमबार रातिदेखिको वर्षाका कारण जिल्लाको जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइँबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर आइरहेका दर्जनौं सवारी साधनबीच बाटोमै रोकिएको प्रहरी चौकी गैराले जनाएको छ ।

सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरीरहेको स्थानीयवासी मोहन मल्लले जानकारी दिनुभयो । जिल्लामा गएरातिदेखि लगातार वर्षात् भइरहेको छ भने ठाउँठाउँमा पहिरा आएर सडक अवरुद्ध भएको बताइएको छ । पहिराका कारण अवरुद्ध भएको भएको राजमार्ग सञ्चालनका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.