नेपाल-भारतबीचका सबै बिषय वार्ताबाट समाधान हुने : राजनाथ सिहं

भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएसंगै उत्पन्न विवाद नेपालले आफ्नो नक्सा जारी गरेर चुलिएका बेला भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने बताउनुभएको छ ।
सोमबार एक र्यालीलाई भिडियो सम्बोधन गर्दै उहाँले छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको बताउनुभयो ।
सीमा सडक संगठन (बोर्डर रोड्स अर्गनाईजेसन) द्वारा ‘कैलास मानसरोवर यात्राको सुविधाका लागि निर्माण गरिएको सडकलाई लिएर लिपुलेकसम्मको सडकबारे दुई मुलुकबीचको बुझाईमा भिन्नता आएपछि’ सिंहको यो भनाइ आएको हो ।
यो सडक मानसरोबरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दावी सिंहले उत्तराखण्ड जनसम्वाद र्यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “नेपालमा यसबारे बुझाइमा केही गलत धारणा आएका छन् । यसलाई हामीले वार्ताका माध्यमबाट समाधान गर्नेछौँ ।” उहाँले थप्नुभयो, “नेपालले चासो व्यक्त गरेजस्तो हामीबीच सामाजिक, भौगोलिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभई हामीबीच धार्मिक सम्बन्ध पनि रहेको छ । भारतले यसलाई कहिल्यै विर्सन सक्दैन ।”
दुई मुलुकबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको र यसलाई ‘विश्वका कुनै शक्ति’ले तोड्न नसक्ने भारतीय रक्षामन्त्रीको दावी रहेको छ । उक्त अवसरमा सिंहले भारतीय जनता पार्टी नेतृत्वको उत्तराखण्ड राज्य सरकारले विगत तीन वर्षमा गरेका कामको प्रशंसा गर्दै उत्तराखण्डमा भाजपाले गरेका सबै वाचालाई यसै कार्यकालको अन्त्यसम्ममा पूरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
केही दिन पहिले नेपालको प्रतिनिधि सभाले सर्वसम्मतरूपमा पारित गरेको नेपालको नयाँ नक्सालाई मान्यता दिन संविधानको संशोधन गर्ने निर्णयलाई आइतबार राष्ट्रिय सभालेले अनुमोदन गरेको थियो । नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको छ ।
प्रतिक्रिया राख्नुहोस्