जन सरोकार

कास्की र पाल्पामा दुईजनाको मृत्यु

अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रै गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ । मंगलबार राति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए । प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट बाहिर निकालेको र मुचुल्का कार्य आज गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । केही दिनदेखिको लगातारको अविरल वर्षाले जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ । पहिरोका कारण ग्रामीण सडकहरु अवरुद्ध बनेको बताइन्छ ।

जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरी जिल्लाका सेती, मर्दी, मादी, सार्दी, विजयपुर, हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले नदी किनारमा बाढी, डुबान हुने तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा पहिरो जनन सक्ने हुँदा सचेत र सतर्क रहन अनुरोध गरेको छ । विपद्जन्य घटनाको उच्च जोखिम भएमा वा कुनै अप्रिय घटना घटेमा प्रशासनलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

उता पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले पुष्टि गर्नुभयो । शव परीक्षण गरी शव आफन्तलाई बुझाइएको छ ।

घटनास्थलको मुचुल्का बनाई क्षतिको विवरण लिने कार्य भइरहेको हार्थोक प्रहरी चौकीका प्रमुख कृष्ण रेग्मीले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण ग्रामीण भेगका धेरै घर जोखिममा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.