राजनीति

नेपाल एसपिपीमा संलग्न हुँदैन, प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित छैन : गृहमन्त्री खाण

सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोच समेत नराखेको स्पष्ट पारेको छ । सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाणले भन्नुभयो, “एसपिपी कार्यक्रममा नेपाल आवद्ध भएको छैन, यससम्बन्धी कुनै निर्णय गरेको छैन, निर्णय गर्ने सोच राखेको पनि छैन, यसमा सुस्पष्ट रूपमा प्रतिबद्धता राख्न चाहन्छु ।”

नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भएअनुसार नेपाल सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । नेपाल र अमेरिकाबीच पहिलेदेखि नै सद्भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदानप्रदान भइरहेको तथा यसअघिका भ्रमण र सहयोग विगतको निरन्तरता रहेको उहाँले आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्रालयका तर्फबाट जवाफ दिने क्रममा बताउनुभयो ।

सांसदहरूले सोधेका पुरक प्रश्नको जवाफमा गृहमन्त्री खाणले एमसिसी सम्झौता सहमतीमै पास भएको र एसपिपीमा नेपालको कुनै संलग्नता नरहेको दोहोर्याउनुभयो ।

उहाँले एमसिसी कुनै सैन्य परियोजना नभई विकास परियोजना भएको भन्ने सोचका साथ नै अघि बढाइएको र पछि व्याख्यात्मक टिप्पणीका साथ पास भएको स्पष्ट पार्नुभयो ।

“एसपिपीमा हामी संलग्न हुँदैहुँदैनौ भनिरहेका छौँ, हिजो एमसिसीमा पनि जे बोल्यौँ त्यही गर्यौँ, आज पनि जे बोल्छौँ त्यही गछौँ”, गृहमन्त्री खाँणले थप प्रष्ट्याउँदै भन्नुभयो, “यो स्टेट पाटनरसिप प्रोग्राममा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन ।”

प्रधानमन्त्रीको अमेरिका भ्रमण सुनिश्चित भएको छैन

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कार्यक्रम अहिलेसम्म सुनिश्चित नभएको सदनमा जानकारी गराउनुभयो ।

सांसदहरूले भ्रमणको विषय स्पष्ट पार्नुपर्ने माग राखेपछि उहाँले भ्रमणका विषयमा जवाफ दिँदै कार्यतालिका बनेपछि सदनलाई जानकारी हुने स्पष्ट पार्नुभयो ।

उहाँले विभिन्न देशका निम्तामा प्रधानमन्त्री, मन्त्रीहरू बेलाबेलामा भ्रमणमा जाने कुरा स्वभाविकै भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.