परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता
चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ ।
बेइजिङमा सोमबार भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा दुई पक्षबीच सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको थियो ।
“हामीले जनताजनताबीचको सम्बन्ध विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान गर्यौं र दुवै देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्यौं”, भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ ।
सोमबारै परराष्ट्रमन्त्री खनाल र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको थियो । उहाँले सोमबारै यसअघि ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च तथा चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन भ्रमण गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री खनालले आइतबार उहाँको सम्मानमा बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको थियो । साथै उहाँले नेपाली राजदूतावास परिसरमा वृक्षरोपण गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री खनाल चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुग्नुभएको थियो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।




प्रतिक्रिया राख्नुहोस्