क्वारेन्टिनबाट घर फर्किएका २६ जनामा कोरोना सङ्क्रमण

क्वारेन्टिनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५ र २ का ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरुलाई गत जेठ २९ गते क्वारेन्टिनबाट घर पठाइएको थियो । जेठ ३१ गते स्वाब संकलन गरी नेपालगञ्ञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पिसिआर जाँच गर्दा आज सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले जानकारी दिनुुभयो । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । संक्रमण पुष्टि भएका सबै वडा नं २ स्थित अमरज्योति माध्यमिक विद्यालय सीतापुरको क्वारेन्टिनमा बसेका थिए ।
उच्च सतर्कता
एकै दिन धेरै जनामा सङ्क्रमण पुष्टि भएपछि बढैयाताल गाउँपालिकामा सतर्कता बढाइएको छ । सङ्क्रमण थप फैलनबाट रोक्न उच्च निगरानी बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनु भयो । वडा नं १ र २ मा अत्यावश्यकबाहेक अन्य काममा बाहिर हिँड्न निषेध गरिएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा आज भएको परीक्षणका क्रममा बर्दियाका ३१ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकामध्ये २६ जना बढैयाताल गाउँपालिकाका हुन् ।
उता कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो ।
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९, २१, २१, २४, ३८ र ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र ५० वर्षीय पुरुष र १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो ।
कोराना संक्रमित आइसोलेशनमा छन् । ‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन् ’, उहाँले भन्नुभयो, ‘२५ जना निको भएर घर गइसक्नुभएको छ । हाल आइसोलेशनमा १८ भर्ना हुनुभएको छ ।’