जन सरोकार

मेलम्चीलाई कामपा र गोकर्णेश्वरको आर्थिक सहयोग

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाढी पीडितका लागि राहत तथा उद्धारका लागि काठमाडौं महानगरपालिकाले र काठमाडौंकै गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

बिहिबार कामपाले मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गर्नुभएको हो । गत मङ्गलबार मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिनुभयो । मेलम्ची काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।

उक्त नगरलाई यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत कामपाले मेलम्चीको वडा नं १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकूद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी उद्यान निर्माणका लागि रु एक करोड ५० लाख रकम अनुदान दिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।

यसै गरी काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गोकर्णेश्वरका मेयर सन्तोष चालिसेले नगरपालिका क्षेत्रमा सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका धेरैको बसोबास रहेको र मेलम्चीसँग मित्रवत सम्वन्ध रहेकाले सहयोग गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.