स्कटल्याण्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सले नेपाल सामू जितको लागि १ सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १सय ५२ रन बनायो । नेदरल्यान्ड्सको लागि तेजा निदामानरुले ३५ रन बनाए भने विक्रमजीत सिंहले ३० रन जोडे । त्यस्तै साकिब जुल्फिकर २५ रनमा अविजित रहँदा माइकल लेभिटले २०, म्याक्स ओ’डाउडले १९ र ज्याक लायन-क्याचेटले ११ रन बनाए ।
नेपालको लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट लिँदा ललित नारायण राजवंशी र कुशल भुर्तेलको भागमा समान एक-एक विकेट रह्यो ।
नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै शृंखलामा विजयी सुरुवात गर्ने योजनाको साथ मैदानमा उत्रदै छ भने यता नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्दै शृंखलामा पहिलो जितको खोजीमा रहने छ ।
यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म १३ ट्वान्टी-२० टी-२०आई खेल भएका छन् । जसमा सात खेल नेदरल्यान्ड्सले जित्दा नेपालले पाँच खेल आफ्नो पक्षमा पार्दा एक खेल नतिजाविहीन छ ।
स्कटल्याण्डमा हालै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय शृंखला सकिएपछि नेपालले टी-२० खेल्न लागेको हो । स्कटल्याण्डमा सम्पन्न भएको विश्वकप लिग-२ मा नेपालले चार खेल मध्ये तीन खेल जितेको थियो । नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित, लोकेश बम, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।





प्रतिक्रिया राख्नुहोस्