विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीको शानदार ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले फिफा विश्वकप फुटबल–२०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
अमेरिकाको कान्सास सिटीस्थित रंगशालामा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले समूह ‘जे’ मा महत्वपूर्ण तीन अंक जोडेको हो। अर्जेन्टिनाका कप्तान मेस्सीले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै आफ्नो विश्वकप करिअरको पहिलो ह्याट्रिक पूरा गरे।
छैटौं पटक विश्वकप खेलिरहेका ३९ वर्षीय मेस्सीका लागि यो उपलब्धि ऐतिहासिक बनेको छ। खेलको सुरुवाती चरणमै उनले गरेको अर्को गोल भने अफसाइडका कारण मान्य भएन।
अल्जेरियाले पनि खेलमा केही अवसर सिर्जना गरेको थियो। उसले गरेको एक गोल अफसाइड ठहरिएपछि खेलमा फर्किने अवसर गुमाएको थियो।
अर्जेन्टिनाले अधिकांश समय बल नियन्त्रणमा राख्दै खेलमा आफ्नो वर्चस्व कायम गरेको थियो। यो जितसँगै अर्जेन्टिना तीन अंकसहित समूह ‘जे’ को शीर्ष स्थानमा उक्लिएको छ भने अल्जेरिया अंकविहीन बनेको छ।
मेस्सीको यो ह्याट्रिकले विश्व फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान पनि थपेको छ। विश्वकपमा उनले आफ्नो कुल गोल संख्या १६ पुर्याउँदै जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोसको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन्।
सन् २००६ को विश्वकपबाट डेब्यु गरेका मेस्सीले अल्जेरियाविरुद्ध मैदान उत्रिएसँगै इतिहासमा छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाएका छन्। उनले सन् २०१० बाहेक पाँच फरक विश्वकप संस्करणमा गोल गर्ने दुर्लभ उपलब्धिसमेत हासिल गरेका छन्।
चार वर्षअघि कतार विश्वकपमा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वविजेता बनाएका मेस्सीले विश्वकपमा आफ्नो २७औं खेल खेल्दै सर्वाधिक खेल खेल्ने कीर्तिमानलाई अझ मजबुत बनाएका छन्।
विश्व फुटबलका जीवित किंवदन्ती मानिने मेस्सीले उमेरको उत्तरार्धमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै इतिहासका पानामा नयाँ अध्याय थपिरहेका छन्।




प्रतिक्रिया राख्नुहोस्