राजनीति

नेकपा सचिवालय बस्दै, एमसीसी र प्रधानमन्त्रीका कार्यशैलीका विषयमा बैठक केन्द्रित हुने

भारत अतिक्रमित भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समटिएको नेपालको नक्सा सार्वजनिक भएदेखि संविधान संशोधनसम्म एकमत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा एमसीसीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो धारणाप्रति नेताहरु असन्तुष्ट हुँदैआएका बेला शनिबार सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः०० बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसिसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने जनाइएको छ ।

एमसीसीका विषयमा प्रधानमन्त्री ओलीले आफ्नै दलका नेताहरुले समझौता पढ्दै नपढी बिरोध गरेको बताउँदै आउनुभएको छ । यस विषयमा नेकपाका अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल तथा उपाध्यक्ष बामदेव गौतम एक ठाउँमा उभिएका छन् ।

शीर्ष नेताहरु नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्ट बनेका छन् । पार्टीमा कुनै छलफल र परामर्श नलिईकन प्रधानमन्त्री ओली एकलौटी रुपमा अघि बढ्न खोजेको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको आरोप छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा एमसीसी देशको हितमा भएकोले यसलाई तत्काल संसदबाट पारित गरिने बताउँदै आउनुभएको छ । तर, ओलीविरोधी नेताहरुले भने एमसीसी संशोधन नगरी अघि बढाउन नहुने अडान राखेका छन् ।

पार्टीको गत माघमा बसेको केन्द्रिय कमिटी बैठकले नै एमसीसीसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको र झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले प्रतिवेदनसमेत प्रधानमन्त्री ओलीलाई बुझाएको छ । उक्त प्रतिवेदनमा एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने राय दिएको छ ।

बिहिबार अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । त्यसलगत्तै उहाँले बरिष्ठ नेताद्वय नेपाल र खनालले समेत भेटवार्ता गर्नुभएको थयो । बैठकमा नेताहरुले प्रधानमन्त्री ओली विपक्षी दलसँग मिलेर एमसीसी संसदबाट पारित गराउने खेलमा लागेको निश्कर्ष निकालेका थिए ।

सम्बन्धित खबर

Back to top button