प्रदेशसुदूरपश्चिम

जोखिम बढेपछि अत्तरिया बन्द, एनआरएनए कोरियाबाट सुदूरपश्चिमका लागि पिसिआर किट हस्तान्तरण

कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन् । गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो ।

सो नगरपालिका गत जेठ २४ गते पहिलो पटक एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३२ गते गोदावरी–१ का ४६ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको थियो । सो नगरपालिकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको जनाइएको छ ।

यसैबीच गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ ।

एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार ५०० थान पिसीआर किट हस्तान्तरण गर्नुभएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ ।

सो क्रममा मन्त्री भट्टले सरकारीस्तरबाट भइरहेका काममा एनआरएनए र नीजि क्षेत्रलगायतबाट भइरहेको सहयोगले कोभिड–१९ नियन्त्रणमा सजिलो हुने बताउनुभयो । कोभिड–१९ को महामारीपछि भारतमा रहेका झण्डै चार लाख नेपाली सुदूरपश्चिम प्रदेशमा भित्रिएको बताइएको छ । त्यसैगरी मन्त्री भट्टको पहलमा ह्युमिनिटी फाउण्डेसन नेपालले खरिद गरेको पिसीआर मेसिन काठमाडौँदेखि डडेल्धुरा पठाइएको छ ।

फाउण्डेसनले सुदूरपश्चिम र स्वदेश तथा विदेशमा रहँदै आएका समाजसेवी, व्यापारीलगायतका दाताबाट सङ्कलन गरिएको रकमले खरिद गरिएको मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने बताइएको छ । सुदूरपश्चिममा हाल एक मात्र पिसीआर मेसिनबाट कोभिड–१९ को परीक्षण भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.