जन सरोकार

बन्दाबन्दीमा बढी भाडा लिएर सार्वजनिक सवारी सञ्चालन

कोभिड–१९ को जोखिमका कारण जारी रहेको आंशिक बन्दाबन्दीको अवस्थामा सवारी पासविना चर्को भाडा लिएर सार्वजनिक सवारी साधन सञ्चालन गरेको फेला परेको छ ।

तोकिएभन्दा बढी भाडा लिएर सवारी पासविना नै यात्रु ओसारपसार गरेको फेला परेपछि आइतबार तीन चालकलाई महानगरीय प्रहरीवृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ४५८० नंको माइक्रो चालक राहुल डबगर, झापाबाट काठमाडौँ आउँदै गरेको ना५ख ५८३४ नम्बरको यात्रुबाहक बसका चालक सुनसरीका राकेश शाक्य र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ७३९५ नंका बस चालक बाँकेका रुद्रबहादुर खत्री रहेका छन् ।

प्रारम्भिक सोधपुछको क्रममा राहुल डबगरले प्रतियात्रु दुई हजार भाडा लिइ सात जना यात्रीबाट १४ हजार रकम लिएको तथा एक जना यात्रीलाई चितवनबाट चढाइ ८०० भाडा लिएको, शाक्यले १९ जना यात्रु बोकी आएकामा प्रतियात्रु दुई हजारका दरले ३८ हजार लिएको तथा खत्रीले १५ जना यात्रु बोकी आएकामा प्रतियात्रु दुई हजारको दरले लिएको खुल्न आएको छ ।

उक्त सवारी साधनमा सवार ४२ जना यात्रुलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनका लागि पठाइएको छ । चालकलाई सवारी साधन, बरामद रकमसहित सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरीवृत्त थानकोटले जनाएको छ ।

प्रहरीले बिहीबार पनि छ जना यात्रु बोकी नेपालगञ्जबाट थानकोटतर्फ आउँदै गरेको बा ४ ख ७३७३ नंको माइक्रो बसरका चालक बाँके नेपालगञ्जका विकास शर्मालाई पक्राउ गरेको थियो ।
–––

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.