रास्वपा महाधिवेशनमा प्रतिनिधि विवादले बन्दसत्र ढिला, अन्योल कायमै
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधिको संख्या टुङ्गो नलाग्दा बन्दसत्र सुरु हुन ढिलाई भएको छ । सोमबार बिहान साढे ८ बजे सुरु हुने भनिएको दोस्रो दिनको कार्यक्रम दिउँसो २ः२० बजेसम्म पनि प्रारम्भ हुन सकेको छैन।
चितवन प्रदर्शनी केन्द्रमा महाधिवेशन प्रतिनिधिहरू अहिले अन्योल अवस्थामा देखिएका छन्। प्रतिनिधिहरू परिचयपत्र देखाउँदै हलभित्र प्रवेश गर्ने र बाहिरिने तथा खाना खाने क्रममा समय बिताइरहेका छन्।
पार्टी प्रवक्ता मनिष झाले केही जिल्ला तथा मधेस प्रदेशका पालिकाहरूको अधिवेशन अन्तिम समयमा सम्पन्न भएको र कतिपय स्थानमा अधिवेशन नै नभई तदर्थ समितिमार्फत प्रतिनिधि चयन गरिएको कारणले प्रतिनिधिको संख्या रुजु तथा अद्यावधिक गर्ने काम चलिरहेकाले बन्दसत्र सुरु हुन नसकेको जानकारी दिनुभयो।
त्यसैगरी, कतिपय संघीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिमा नपरेको विषयमा दाबी–विरोधसमेत परेको छ। उक्त दाबी–विरोधका आधारमा अन्तिम टुङ्गो लगाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ।
महाधिवेशनको कार्यक्रम सञ्चालन तथा व्यवस्थापन उपसमिति संयोजक कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्र निर्धारित समयभन्दा केही घण्टा ढिला हुने निश्चित भएको छ।




प्रतिक्रिया राख्नुहोस्