राजनीति

“राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ !”

उपलब्धिको संरक्षण तथा सम्बद्र्धनमा भूमिका खेल्न विपक्षी गठबन्धनको आह्वान

विपक्षी दलको गठबन्धनले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको जनाउँदै प्राप्त उपलब्धिको संरक्षण तथा सम्बद्र्धनमा भूमिका खेल्न आह्वान गरेको छ ।

गठबन्धनका शीर्ष पाँच नेताहरूले संयुक्त विज्ञप्तिमार्फत संविधानको मर्म विपरीत प्रतिनिधिसभाको दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायमाथि हस्तक्षेप, राजनीतिक दलमा विभाजन, कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा प्रदान गर्न असक्षमता एवम् बाढी, पहिरो र डुबानमा पूर्वतयारीको अभाव जस्ता आरोप लगाउँदै यसमा सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपन देखिएको जनाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘…प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेका छन् । नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ’ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले सरकारले राष्ट्रिय हित एवम् जनताको समृद्धितर्फ अग्रसर हुनाको साटो तीन वर्ष नबित्दै राजनीतिलाई अस्थिर तुल्याएको तथा आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा आघात पुर्याएको टिप्पणी गर्नुभएको छ ।

“निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारीअनुरूप निष्पक्षरूपमा काम नगरी कानून र न्यायसंग असंगत व्यवहार प्रदर्शन गर्नु अत्यन्त चिन्ताको विषय हो । यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्याउँछ । यस्ता गलत गतिविधिहरू अविलम्ब बन्द गरिनुपर्छ”, विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धनले संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय हितको रक्षा, कोरोना महामारी तथा बाढी, पहिरो र डुबानको विपत्तिबाट जनताको सुरक्षा, उद्धार तथा पुनःस्थापना एवं जनताका अपेक्षा एवम् आवश्यकताका दिशामा एकताबद्धरूपमा अघि बढ्न आफू प्रतिबद्ध रहेको जनाउँदै देश र जनताको सर्वोपरी हित, संविधान, लोकतन्त्र र कानूनी शासनको संरक्षण एवं सम्बद्र्धनका लागि भूमिका खेल्न सबैमा आह्वान गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.