कर्पोरेट/पर्यटन

आन्तरिक तथा बाह्य उडान संचालन गर्ने निर्णय

स्वाथ्य सुरक्षा मापदण्ड पालना गरी कुल क्षमताको ५० प्रतिशत यात्रु बोक्न पाइने

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसंगै स्थगित गरिएका आन्तरिक तथा बाह्य उडानहरु शर्तसहित संचालन गर्न दिने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान शर्तसहित सञ्चालन गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनी अनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् ।

स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि आन्तरिकतर्फ कूल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गरिने र उपयुक्त उडान तालिका र मिति पर्यटन मन्त्रालयले तय गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

अन्तरराष्ट्रियतर्फ पनि नियमित हवाई उडान संख्या थप गर्ने निर्णय भएको छ । काठमाडौँ–दोहा गन्तव्यमा दुबै मुलुकका समान दुई वायुसेवा कम्पनीले सातामा चार उडान गर्नेछन । काठमाडौँ–स्तानबुलमा साताको दुई, काठमाडौँ–दुबईमा सातामा चार उडान हुने जनाइएको छ ।

काठमाडौँ–दमाम गन्तव्यमा दुई, काठमाडौँ–कुवेतमा साताको दुई, काठमाडौँ–मस्कटमा साताको एक र मलेसियामा साताको चार उडान सञ्चालन गरिनेछ । त्यस्तै दक्षिण कोरिया र जापानमा समान एक उडान तथा काठमाडौँ–छेन्दु र ग्वाङजाओ गन्तव्यमा साताको समान एक–एक उडान सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button