अमेरिका–इरान वार्ताले ‘अन्तिम सम्झौता’का लागि राम्रो आधार तयार पारेको उपराष्ट्रपति भान्सको भनाइ
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्यान्डमा भएको पहिलो चरणको अमेरिका–इरान वार्ताले मध्यपूर्व युद्ध समाप्त गर्न अन्तिम सम्झौता गर्नका लागि राम्रो आधार तयार पारेको बताउनुभएको छ ।
“हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौँ,” बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भन्नुभयो । यो वार्ता आइतबार सुरु भएको थियो र राति अबेरसम्म चलेको थियो ।
उहाँले भन्नुभयो, “मध्यपूर्वको शान्तिका लागि अन्तिम सम्झौता एउटा पूर्ण संरचना हो भने हामीले स्वीट्जरल्याण्डमा भइरहेको वार्ताबाट यसका लागि जग बसालेका छौँ । राम्रो ठाउँमा पुग्न सफल आधार तयार पारेका छौँ ।”
“हामी सबैले कति काम भयो भन्ने कुराको महत्व बुझ्नु आवश्यक छ, तर इमानदारीपूर्वक भन्नुपर्दा अझै धेरै काम बाँकी छ । हामीले आणविक वार्ता, आर्थिक वार्तामा प्रगति गरिरहेका छौँ, जलमार्गहरूबाट विस्फोटक पदार्थ हटाउने काम गरिरहेका छौँ र त्यहाँ यातायातको प्रवाह फेरि बढोस् भन्ने सुनिश्चित गरिरहेका छौँ ।”
“धेरै प्रगति भएको छ तर अझै केही काम गर्न बाँकी छ । हामी ठ्याक्कै त्यही गर्न प्रतिबद्ध छौँ ।”
उहाँले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरु मार्ग ‘खुला रहेको’ बताउनुभयो र विगतमा रोकिएको लाखौँ ब्यारेल कच्चा तेल र प्राकृतिक ग्यासको ढुवानी अहिले भइरहेको उल्लेख गर्नुभयो ।
पाकिस्तान र कतारको मध्यस्थतामा स्विट्जरल्यान्डको बुर्गेनस्टकमा यो अमेरिका–इरान वार्ता भएको हो । भान्सले पत्रकार सम्मेलनपछि अमेरिका फर्किने बताउनुभयो ।
यसैबीच, ‘प्राविधिक स्तरमा’ छलफलहरू आगामी दिन र हप्ताहरूमा बुर्गेनस्टकमै जारी रहने उहाँले बताउनुभयो । यदि मध्यपूर्व युद्ध समाप्त गर्नका लागि गरिने कुनै सम्झौताअन्तर्गत इरानी कोषहरू कहिल्यै फुकुवा भएमा पनि वाशिङ्टनले त्यस पैसाले आतङ्कवादलाई वित्तीय सहयोग नपुग्ने सुनिश्चित गर्न सक्ने उपराष्ट्रपति भान्सले जोड दिनुभयो ।
“यदि हामीले कहिले इरानी “सम्पत्तिहरू फुकुवा गरे पनि, हामी सुनिश्चित गर्न सक्छौँ कि इरानी पैसा आतङ्कवादलाई कोष दिन नभई इरानका जनतालाई सहयोगका लागि जानेछ,” बुर्गेनस्टकमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भन्नुभयो ।
उहाँले स्विट्जरल्यान्डको उक्त रिसोर्टमा भएको वार्ताले यो सुनिश्चित गरेको बताउनुभयो । “यदि इरानी रोक्का सम्पत्तिहरू कहिल्यै फुकुवा भए भने त्यो कोष अमेरिकी किसानहरूलाई धनी बनाउन र इरानका जनतालाई खाना खुवाउन जाने छ ।”




प्रतिक्रिया राख्नुहोस्