नर्वे २८ वर्षपछि फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले पराजित गर्दै नर्वे नकआउट चरण प्रवेश गरेको हाे ।
न्यूयोर्क न्यू जर्सी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नर्वेको लागि एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गर्दा सेनेगलका लागि इस्माइला सारले दुई गोल गरे । खेलको ४३औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलमा खेलको ४८ औं मिनेटमा हाल्यान्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ५३औं मिनेटमा सेनेगलका इस्माइला सारले गोल गर्दै खेललाई २-१को स्थितिमा ल्याए । तर, खेलको ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता ३-१ मा पुर्याए । दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गरेपनि त्यो ढिलो भैसकेको थियो ।
त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र नर्वेले खेल ३-२ ले आफ्नो पक्षमा पार्दै नकआउटमा स्थान सुरक्षित गर्यो । जितसंगै नर्वे दुई खेलमा छअंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ भने समान खेलमा छ अंक नै रहेको फ्रान्स गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा रहेको छ ।
यस समूहबाट नर्वे र फ्रान्स नकआउट चरणमा प्रवेश गर्दा दुवै खेलमा पराजित सेनेगल र इराक प्रतियोगिताबाट बाहिरिएका छन् ।




प्रतिक्रिया राख्नुहोस्