जन सरोकार

भारत आश्रित छाङ्रु र टिङ्करबासीलाई सरकारले खाद्यान्न पुर्याउँदै

सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्रु र टिङ्करमा खाद्यान्न पुर्याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्याउनका लागि यही असार ३ गते बोलपत्र आह्वान गरेर प्रक्रिया शुरु गरिसकेको छ ।

यसअघि भारत र चीनबाट आश्रित त्यहाँका नागरिकलाई खाद्यान्न पुर्याउन थालिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुई गाउँका १९२ घरधुरीका परिवारलाई तत्काल दुई सय क्विन्टल चामल पुर्याइने छ ।

सरकारले यसअघि गत वैशाख ३१ गते सीमा रक्षाका लागि छाङ्रुमा सीमा निगरानी चौकी स्थापना गरेको थियो । बन्दाबन्दीले गर्दा भारत र चीनबाट खाद्यान्न नआएपछि आफूहरुले ती ठाउँका सर्वसाधारणलाई खाद्यान्न पुर्याउन लागेको खनालले बताउनुभयो । ‘‘पहिले ती गाउँका मानिसहरु भारत र चीनबाट खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए ’’, उहाँले भन्नुभयो, ‘‘ तर अहिले बन्दाबन्दीले गर्दा भारत र चीनबाट त्यहाँ खाद्यान्न ल्याउने अवस्था भएन । अनि हामीले गाउँपालिकाको समन्वयमा खाद्यान्न पुर्याउन थालेका हौँ ।”

उहाँका अनुसार यही महिनाको २५ गतेभित्र त्यहाँका सर्वसाधारणलाई चामल पुर्याउने छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले बन्दाबन्दीमा त्यहाँका जनतालाई खाद्यान्न पुर्याउन निर्देशन दिएपछि कम्पनीका नायब महाप्रबन्धक खनालसहितको टोली सुर्खेत गएको छ । कम्पनीले बोलपत्रमार्फत पुर्याएको चामल गाउँपालिकाले खरीद गरेर त्यहाँका सर्वसाधारणलाई सरकारी दरमा वितरण गर्नेछ । यसअघि कम्पनीले व्यास गाउँपालिकाकै सुनसेरा भन्ने ठाउँमा भने खाद्यान्न पुर्याउँदै आएको थियो ।

खनालले सुर्खेतबाट हेलिकप्टरमा ती दुई गाउँमा चामल पुर्याई सर्वसाधारणलाई वितरण गरिने बताउनुभयो । अहिले ती दुई गाउँमा १९२ घरधुरी छन् । महाप्रबन्धक खनालले अब बिक्रीकेन्द्र स्थापना गरेर नियमित रुपमा ती ठाउँमा खाद्यान्न पुर्याइने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बन्दाबन्दीका कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि कम्पनीलाई पत्र लेखेर खाद्यान्न आपूर्ति गर्न भनिएको बताउनुभयो । उहाँका अनुसार कम्पनीले ल्याएको चामल छाङ्रु र टिङ्करका सर्वसाधारणलाई सयसय क्विन्टल वितरण गरिने छ । छ महिना सदरमुकाम र ६ महिना आफ्नो गाउँमा बस्ने त्यहाँका बासिन्दा बन्दाबन्दीका समयमा गत वैशाखको दोस्रो हप्ता गाउँपालिकाको सहयोगमा आफ्नो गाउँ पुगेका थिए ।

गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भारतसंँग सहकार्य गरेर सदरमुकाम खलङ्गाबाट उनीहरुलाई घर पुर्याइएको बताउनुभयो । ‘‘ घर पुगेपछि बन्दाबन्दीको कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि के खाने भनेर समस्या भयो ’’, उहाँले भन्नुभयो, ‘‘ त्यही भएर हामीले सहुलियत दरमा ती मानिसलाई खाद्यान्न उपलब्ध गराउन खाद्य कम्पनीलाई आग्रह गरेका हौँ । त्यसैअनुसार खाद्यान्न आउन थालेको छ ।’’

उहाँका अनुसार गाउँपालिकाले खाद्यान्न ल्याउन अग्रीम भुक्तानीका लागि पैसा जम्मा गर्ने र पछि सर्वसाधारणलाई सरकारकै मूल्यमा चामल उपलब्ध गराउने छ । उहाँले अब छाङ्रुमा नै बिक्री केन्द्र स्थापना गरेर त्यहाँका बाासिन्दालाई नियमित खाद्यान्न वितरण गरिने बताउनुभयो ।

फापर, उवा र आलु त्यहाँका मुख्य बाली हुन् । उनीहरु मङ्सिरदेखि वैशाखसम्म सदरमुकाम खलङ्गा र जेठदेखि कात्तिकसम्म आफ्नै गाउँ बस्ने गर्छन् । गाउँमा बसेका बेला उनीहरु असारदेखि कात्तिकसम्म नेपाल र भारतबाट सामान लिएर तिब्वतको ताक्लाकोटमा गई व्यापार गर्छन् । त्यहाँबाट ताक्लाकोट पुग्न १२ घण्टा लाग्ने गरेको छ । उनीहरु भारत र चीनमा गरिने व्यापारबाट आम्दानी गरेको पैसाले आफूलाई चाहिएको उपभोग्य वस्तु किन्ने गर्छन् । गाउँपालिकाका अध्यक्ष बुढाथोकीका अनुसार करीब एक हजार जनसङ्ख्या रहेको ती दुई गाउँमा अहिले तीनचार सय मात्र मानिस छन् । अन्य मानिस रोजगारीका लागि नेपालका अन्य ठाउँ, भारत र चीन (तिब्बत) जाने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.