रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको असर नारायणी नदीसम्म पर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै नवलपुर प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम थालेको छ।
बाढीको बहाव तीव्र रूपमा बढिरहेकाले त्यसको असर नारायणी नदीको तटीय क्षेत्रमा समेत पर्न सक्ने आँकलन गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले बताउनुभयो। यद्यपि, बाढीको असर कति गम्भीर हुन्छ भन्ने यकिन भइसकेको छैन।
‘यसको असर मुग्लिन कटिसकेपछि मात्रै आँकलन गर्न सकिन्छ, अहिले नै भन्न सकिँदैन। तर हामीले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेका छौँ,’ प्रजिअ उपाध्यायले भन्नुभयो, ‘नारायणीसँग जोडिएका नवलपुरका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।’
नारायणी नदी फराकिलो क्षेत्रमा बग्ने भएकाले बाढीको असर तुलनात्मक रूपमा कम हुनसक्ने स्थानीय प्रशासनको प्रारम्भिक अनुमान छ। यद्यपि, सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न माथिल्लो तहबाट निर्देशन प्राप्त भएको प्रशासनले जनाएको छ।
‘यसपटक सतर्कता अपनाउने मात्रै होइन, तटीय क्षेत्र खाली नै गराउने भन्ने माथिको आदेश छ। सोहीअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ,’ प्रजिअ उपाध्यायले भन्नुभयो।
प्रशासनका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–१ र २ तथा कावासोती नगरपालिका–१७ लाई सम्भावित जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ।
बाढीको जोखिम बढेसँगै नवलपुर प्रहरीले चितवनदेखि नै तटीय तथा नदी आसपासका क्षेत्रमा माइकिङ गर्दै स्थानीयवासीलाई सतर्क रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।
प्रशासनले नदीको बहाव निरन्तर निगरानीमा राख्दै सम्भावित जोखिमअनुसार उद्धार तथा व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्