बुधबार विहान भोटेकोशी–त्रिशूली नदीमा अकस्मात आएको भीषण बाढीबाट कम्तीमा १९ वटा पुल तथा करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुल क्षतिग्रस्त भएका छन्। साथै, करिब ४० किलोमिटर सडकमा क्षति पुगेको र विभिन्न स्थानमा सडक बगाएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार सडक विभागले प्रभावित क्षेत्रमा भारी उपकरण तथा मेसिन परिचालन गरी सडक खुलाउने तथा क्षतिग्रस्त पुल र सडकको अवस्था सुधार गर्ने कार्य अघि बढाएको छ।
रसुवागढी क्षेत्रमा ठूलो क्षति
बाढीले नेपाल–चीन सीमा नाकास्थित रसुवागढी क्षेत्रका बजार, बस्ती तथा सरकारी संरचनामा व्यापक क्षति पुर्याएको छ। विशेषगरी गोसाइँकुण्ड गाउँपालिका–२ को टिमुरे र घट्टेखोला बजार सबैभन्दा बढी प्रभावित भएका छन्।
प्रहरीका अनुसार टिमुरे बजारका करिब १०७ घर र घट्टेखोलाका ५० घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीबाट रसुवागढीस्थित गाउँपालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह तथा जलविद्युत्गृहमा समेत क्षति पुगेको छ।
सडक, पुल र जलविद्युत् आयोजनामा असर
रसुवा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १८ किलोमिटर सडक बगाएको छ।
साथै, दुई वटा जलविद्युत् आयोजनाको पहुँचमार्गमा रहेका दुई पुल र त्रिशूली–रसुवागढी सडकखण्डका दुई वटा पक्की पुलसमेत बगाएको छ।
यसैगरी, रसुवागढी जलविद्युत् आयोजना पूर्णरूपमा प्रभावित भएको छ भने चिलिमे जलविद्युत् आयोजनाको प्रवेशद्वार क्षेत्रमा क्षति पुगेको छ। राष्ट्रिय प्रसारण लाइनमा समेत बाढीको असर परेको जनाइएको छ।
अन्य क्षेत्र पनि प्रभावित
जिल्ला प्रहरी प्रमुख थापाका अनुसार उत्तरगया गाउँपालिका–४ र ५ का नदी तटीय बजार तथा बस्तीमा पनि बाढीले क्षति पुर्याएको छ। वेत्रावती बजारसमेत बाढीबाट प्रभावित भएको उहाँले जानकारी दिनुभयो।
उद्धार, राहत र क्षति विवरण सङ्कलनमा सरकारको निर्देशन
यसैबीच, नेपाल सरकारले सम्बन्धित निकायलाई प्रभावित क्षेत्रमा आवश्यक समन्वय गरी क्षतिको विस्तृत विवरण सङ्कलन गर्न, खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन, राहत वितरण प्रभावकारी रूपमा सञ्चालन गर्न तथा घाइतेको उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ।
साथै, बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकतामा राख्न र विपद् व्यवस्थापनसँग सम्बन्धित सबै कार्य तत्काल र प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई सरकारले निर्देशन दिएको छ।




प्रतिक्रिया राख्नुहोस्