आउँदैन भन्दाभन्दै आयो अन्नबाली सखाप पारिदिने सलह नेपालमा
कृषिबाली सखाप पारी अनिकाल नै निम्त्याउने सलह (फट्याङग्रा) नेपाल प्रवेश गरेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा सलह प्रवेश गरेपछि भगाउन किटनाशक छर्कन सुरु भएको छ ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड सलह (फट्याङग्रा) हुन्छन् । एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् ।
सलहको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उडान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार सलह भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा अहिलेसम्म देखापरेको छ ।
सलह भारतको विहार राज्यको विभिन्न सीमाहुँदै नेपालमा आइपुगेको हो । हुमागाईले सलहको बथान नै नेपालमा प्रवेश गरेको हो वा भारतमा आएको हावाहुरीका कारण तितरबितर भएर यहाँ आइपुगेको हो, त्यो बारेमा पनि अध्ययन भैरहेको बताउनुभएको छ ।
केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट सलहको टाउको, पेट, एन्टीना, आकारप्रकारको फोटो खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ ।
यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि सलह नछिर्ने दावी गरेको थियो । सलहको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो ।
अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि सलहको बथान प्रवेश गरेको थियो ।
यो सलह सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजकसमेत रहेका हुमागाईले जानकारी दिनुभयो ।