स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाै : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताउनुभएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उहाँले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले विश्वविद्यालयको दीक्षित हुने सङ्ख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गर्नुभयो । “यसअघि एक हजार ३०० विद्यार्थी दीक्षित हुनुभएको रहेछ”, उहाँले भन्नुभयो, “अहिले दुई हजार ४०० भन्दा बढी विद्यार्थी दीक्षित हुनुभएको छ ।”
मन्त्री पोखरेलले स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गरिने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीप दैनिक जीवनमा प्रयोग गर्नुहोला ।”
विश्वविद्यालयका छवटै सङ्कायका स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थी एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । त्यस अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्रछात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक प्रदान गरियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार चान्सलर पदक व्यवस्थापन सङ्कायका निशान्त चन्द र भाइस चान्सलर पदक कृषि विज्ञान सङ्कायका कैलाशराज भट्टले प्राप्त गर्नुभएको छ । उक्त विश्वविद्यालयबाट यसपटक विद्यावारिधि (पीएचडी) गर्ने पहिलो महिला छात्राका रूपमा डा तुलसीकुमारी शर्मासमेत दीक्षित हुनुभएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा विद्यार्थी दीक्षित
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा आज बिहान छैटौँ दीक्षान्त समारोहबाट दुई हजार ४८९ विद्यार्थी दीक्षित भएका छन् ।
सुदूरपश्चिम विश्वविदालयका परीक्षा नियन्त्रण कार्यालयकी परीक्षा नियन्त्रक अनुराधा रोकायाले दुई हजार ४८९ विद्यार्थी दीक्षित भएको जानकारी दिनुभयो । जसमध्ये दीक्षान्त समारोहमा भौतिक रूपमा भने ७६७ विद्यार्थीमात्र सहभागी हुने जानकारी उहाँले दिनुभयो ।
साहित्यकार तथा संस्कृतिविद् तुलसीप्रसाद जोशी ( तुलसी दिवस)को प्रमुख आतिथ्यतामा भएको दीक्षान्त समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्नुभयो ।
दीक्षान्त समारोहमा बोल्दै साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले व्यावहारिक ज्ञान जीवनको थालनीदेखि अन्तसम्म सदुपयोग गर्ने शक्ति शिक्षा र दिक्षाबाट प्राप्त हुनेमा जोड दिनुभयो ।
“ज्ञान ज्ञानका लागि होइन, ज्ञान मान्छेको व्यवहारमा उतार्नका लागि हो”, उहाँले भन्नुभयो, “ज्ञानलाई पुस्तकको पानामा थन्क्याउने होइन, जीवन र व्यवहारमा उतारेर सार्थक बनाउने हो ।”
त्यसैगरी समारोहमा बोल्दै सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति यज्ञराज पाठक ज्ञान सीपलाई समाज र मुलुकको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
“ज्ञान, सीप, सिर्जनशीलता भएको दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयको छ”, पाठकले भन्नुभयो, “उच्च शिक्षाको पहुँच सहज रूपमा उपलब्ध गराउनुका साथै विभिन्न विधामा उच्च शिक्षाको मौका दिइएको छ ।” युग सुहाउँदो प्राविधिक जनशक्ति उत्पादनमा जोड दिँदै उहाँले माटो सुहाउँदो पाठ्यक्रम तयार गरिने बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्