जन सरोकार

अब किराना पसल दिनभर खुल्ने, सार्वजनिक सवारी जोर बिजोरका आधारमा चल्ने

कोरोना संक्रमण्का दर कम हुँदै गएपछि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै भोलि मङ्गलबारदेखि काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारी साधन जोर बिरोधका आधारमा चल्ने भएका छन् भने किराना पसलहरु दिनभर खोल्ने दिइनेछ ।

निषेधाज्ञाको पछिल्लो निर्णय गर्न बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको निर्णय अनुसार अब उपत्यकामा मात्र सञ्चालन हुने गरी २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने भएको छ ।

बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने भनिएको छ । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यनिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।

त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन निसङ्क्रमित गर्नुपर्नेछ । सवारीसाधन बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

निजी सवारीसाधन (कार जीप, भ्यान)मा बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीनजना मात्रै सवार गर्न पाउने नियम छ । मोटरसाइकल, स्कुटरसमेत जोर बिजोर प्रणाली लागू (जोर गते जोर नं र बिजोर गते बिजोर नं) चलाउन पाइने छ ।

स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भारका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरी निर्बाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत् मर्मतसम्भार, स्वास्थ्य सम्बद्ध (औषधि, अक्सिजन सिलिण्डर), दूरसञ्चार इन्टरनेट मर्मत, कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ ।

विवाह तथा व्रतबन्धका हकमा आफ्नो घर वा बसेको स्थानमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी उपस्थित हुन पाइने छ ।

त्यस्तै यसका लागि दुई सवारीसाधन ब्यानरसहित आवतजावत गर्न दिने बताइएको छ । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि मल, बीउबिजन, पशु चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारीसाधन निर्बाध रुपमा सञ्चालन हुन पाउनेछन् । तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको चल्ला र पशुपन्छीजन्य पदार्थ, भेटेरिनरीसम्बन्धी इन्धनलगायत बस्तु बिहान ९ः०० देखि ११ः०० र अपराह्न ४ः०० देखि ७ः०० बजेसम्म ढुवानी गर्न पाउने व्यवस्था मिलाइएको छ ।

सार्वजनिक तथा निजी निर्माणको कामका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ः०० देखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था मिलाइएको छ । पत्रकारलाई सूचना विभाग वा मिडिया हाउसले जारी पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ ।

त्यस्तै बैठकले खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पूजा सामग्री पसल, खेलकुद सामग्री पसल र स्टेशनरी पसल साँझ ६ बजेसम्म खोल्ने निर्णय गरेको छ ।

त्यस्तै डिपार्टमेन्टर स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय सामग्री अटोमोवाइल पार्टस् पसल भने विहान ११ देखि ६ बजेसम्म सञ्चालन हुनेछन् । त्यस्तै इलेक्ट्रोनिक्स, निर्माणजन्य सामग्रीको पसल पनि सञ्चालन हुन पाउनेछ ।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, टेक अवे र होम डेलिभरी साँझ ७ बजेसम्म गर्न पाइनेछ । सवारी साधन मर्मतका लागि वर्कसप साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङपुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखानाहरु भने सञ्चालन गर्न नपाइने भएको छ ।

खुला स्थानमा भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पनि प्रतिबन्ध नै छ । विद्यालय, क्याम्पसमा भौतिक उपस्थिति पठन पाठन तथा परीक्षा सञ्चालन गर्न पनि नपाइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.