बिशेषविश्व समाचार

चीसो महादेश युरोपमा तातोको कहर : जनजीवन प्रभावित, १,३०० भन्दा बढीको मृत्यु

पश्चिमी युरोप यतिबेला इतिहासकै सबैभन्दा भीषण तापलहरको चपेटामा परेको छ। फ्रान्स, स्पेन, इटाली, बेलायतलगायतका देशमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बनेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जुन २१ यता युरोपभर अत्यधिक गर्मीका कारण कम्तीमा १,३०० भन्दा बढी अतिरिक्त मृत्यु भइसकेको छ।

हालसम्म सबैभन्दा बढी प्रभावित देश फ्रान्स बनेको छ, जहाँ स्वास्थ्य निकायले जुन २४ यता मात्रै करिब १,००० अतिरिक्त मृत्यु दर्ता भएको जनाएको छ। स्पेनमा पनि एक साताको अवधिमा ३२७ जनाको गर्मीसम्बन्धी कारणले मृत्यु भएको छ।

फ्रान्सले ४४.३ डिग्री सेल्सियस तापक्रमसहित आफ्नो इतिहासकै उच्च तापक्रमको रेकर्ड कायम गरेको छ। पेरिसमा ४०.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने जर्मनी, चेक गणतन्त्र, पोल्यान्ड र बाल्कन क्षेत्रतर्फ तापलहर फैलिँदै गएको छ।

पेरिस, बोर्डो, बार्सिलोना, म्याड्रिड र रोम सबैभन्दा बढी प्रभावित शहरका रूपमा रहेका छन्। चेक गणतन्त्रको डोक्सानीमा ४१.९ डिग्री र जर्मनीको कोशेनमा ४१.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।

फ्रान्स, बेलायत, स्पेन र इटालीका व्यापक क्षेत्रमा रातो सतर्कता जारी गरिएको छ। फ्रान्सका ५० भन्दा बढी प्रशासनिक क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। बेलायतले जुन महिनाकै उच्चतम ३६.९ डिग्री तापक्रम रेकर्ड गरेको छ भने स्पेनमा ४२ डिग्री र इटालीमा ४१ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ।

उच्च आर्द्रताका कारण मानिसहरूले महसुस गर्ने तापक्रम वास्तविक तापक्रमभन्दा अझ बढी रहेको छ। युरोपका अधिकांश भवन र सहरहरू यति उच्च तापक्रम सहन सक्ने गरी निर्माण नगरिएकाले अवस्था झनै जटिल बनेको छ।

युरोपमा करिब २० प्रतिशत घरमा मात्र वातानुकूलित (एयर कन्डिसन) प्रणाली रहेको बताइएको छ। लगातार रातभर तापक्रम २० देखि ३० डिग्री सेल्सियसभन्दा तल नझर्ने ‘ट्रपिकल नाइट’ का कारण मानिसहरूले राहत पाउन सकेका छैनन्।

तापलहरका कारण अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढेको छ। पेरिसका अस्पतालहरूमा आकस्मिक कक्षमा बिरामीको संख्या २० प्रतिशतले बढेको छ भने मुटुसम्बन्धी समस्याका घटनामा उल्लेख्य वृद्धि भएको छ। बेलायतका केही अस्पतालले आपत्कालीन अवस्था घोषणा गरेका छन्।

फ्रान्समा १,८०० भन्दा बढी विद्यालय बन्द गरिएका छन् भने हजारौं विद्यालयले पठनपाठनको समय घटाएका छन्। बेलायतमा पनि करिब १,००० विद्यालय प्रभावित भएका छन्। अत्यधिक गर्मीका कारण रेल सेवा प्रभावित भएका छन्, विद्युत् प्रणालीमा दबाब बढेको छ र केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

वैज्ञानिकहरूका अनुसार यस तापलहरको प्रमुख कारण ‘ओमेगा ब्लक’ नामक मौसमी प्रणाली हो, जसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई युरोपमाथि लामो समयसम्म थुनिरहेको छ।

जलवायु परिवर्तनले यस्ता घटनालाई थप तीव्र र बारम्बार बनाइरहेको वैज्ञानिकहरूको निष्कर्ष छ। प्रारम्भिक अध्ययनले मानवजन्य जलवायु परिवर्तनका कारण हालको तापलहर २ देखि ४ डिग्री सेल्सियससम्म बढी तीव्र बनेको देखाएको छ।

युरोप विश्वको औसतभन्दा झण्डै दोब्बर गतिमा तातिरहेको महादेश हो। सन् २०२५ को ल्यान्सेट काउन्टडाउन प्रतिवेदनअनुसार विश्वभर गर्मीसँग सम्बन्धित वार्षिक मृत्यु संख्या सन् १९९० को दशकको ३ लाख ३५ हजारबाट बढेर सन् २०१२–२०२१ अवधिमा ५ लाख ४६ हजार पुगेको छ।

विज्ञहरूले जीवाश्म इन्धनको प्रयोग घटाउँदै हरित ऊर्जा, जलवायु अनुकूल पूर्वाधार तथा विकासोन्मुख राष्ट्रहरूलाई जलवायु वित्त उपलब्ध गराउन विश्व समुदायले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन्। हाल विश्वलाई वार्षिक ७.८ ट्रिलियन अमेरिकी डलर बराबरको जलवायु लगानी आवश्यक भए पनि सन् २०२५ मा जम्मा २.१ ट्रिलियन डलर मात्र उपलब्ध भएको बताइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.