बिचार

कमिनिष्ट नेताहरु बल्ल देश बनाउन हिँड्ने रे

सुन्नु भो, जनता जनार्दनज्यूहरु १ नेपालका कमिनिष्ट नेताहरु अब बल्ल देश बनाउन हिँड्नु भो रे । हैन ०७ सालदेखि ५२ र ७४ साल हुँदै विभिन्न समयाँ देश बनाउँछु भनेर हिँडनु भाका नेता आजसम्म बाटैमा हराउनु भा रैछ कि !

हिजोसम्म परिवार, नालनाता, शाखा सन्तान, दरसन्तान बनाई दिन हिँड्या तर, अब चाइँ देश बनाउन हिँड्या जस्तो पो कुरो बुझियो त हँ यीनरका कुरा अनुसार त ?

सरकारले भष्टाचारी जतिलाई ल्याएर यौटै खाडलाँ जाक्ने अभियान चलाउन थालेछि कमिनिष्ट पाटीका भष्टाचारी नेताजति (केपि वली, माधव नेपाल, झलनाथ खनाल, बामदेब गौतम, प्रचण्ड) ऐले अताल्लियर के गरम् र कसो गरम् को छट्पटीयाँ बाँचिरा बेला, माथिका नेता सहित विद्या भण्डारीलाई समेत साथमा राखेर प्रचण्डले “क्रमभङ्ग” भन्ने तीर चलाएछि नेपालका कमिनिष्टका पाँचै नेता प्रचण्डका पछि लागेर देश हामी बनाउँछौँ भन्न थालेका छन ।

विगतका ३५ वर्ष यिनकै हाताँ त थे त ! त्यो बेला देश बनाउन यिनका हात कल्ले रोक्याथ्यो र ? यो बालेन सरकारले सत्ता लेको त भख्खर तीन मैना त भो हैन र ?

आजसम्म जता गयो त्यतै भष्टाचार र बेथितिको विगविगी चलाएर राष्ट्रको ढुकुटियाँ हालिमुहाली चलाएका कमिनिष्टले कैलेको ललिता निवास त कैलेको चिया बगान काण्ड ।

अनि कैलेको सर्पखोर देखि कैलेको क्यानटुनमेन्ट र अनि कैलेको सुनकाण्ड त अनि कैलेको ठेक्का पट्टा काण्ड र रेलकाण्डले देशलाई चारैतिराट घेरा हालेर भष्टाचार गर्न कुनै काण्ड बाँकि नराख्या कुरा त जनताले बुझेकै छन त अब फेरि यो क्रमभङ्ग काण्ड मच्चाएर खोरभित्र जान रोक्न सकिन्छ कि त भनेर चल्या चाल त होला ।

चिन्ता नगर्नोस भष्टाचारीज्युहरु यो सरकारले पाएको ५ वर्षे म्याण्डेटमा भष्टाचारीजति चाहे कर्मचारी हुन् या दलका नेता या हुन् प्रधानमन्त्री र मन्त्री भष्टाचारी जति कोहि बच्नेवाला छैनन् । जनताले यो सरकारलाई दिएको पैलो आदेश नै भष्टाचारीको सफाया गर्ने हो ।

सरकारको भष्टाचारी बिरोधी आन्दोलनसित अताल्लिएर जेलजानबाट बच्न सकिन्छ कि भनेर देश बनाउँछौँ भन्ने बहनाँ कमिनिष्टहरु एक भाछन तर, तिनरलाई देश बनाउने जिम्मा दिन्छ कल्ले के !? पाँच वर्षका लागि देशबनाउने जिम्मात जनताले रास्वपालाई दिई सक्याछन् त जनताले चुनाबबाटै ।

तर पनि जनताको आँखाँ छारो हाल्न खोज्दै एक ठाउँमा भाका कमिनिष्टलाई जनताले के फेरि पनि आन्दोलनकै बलबाट माथि उठाउलान कि यो देशबाटै कमिनिष्ट भन्ने पाटी र नेताहरुकै सफाया होला ऐलेको सर्वत्र चासोको विषय भन्या यै हो ।

विगताँ बेलाबेलाँ सडकाँ बोलाउँ जनता खुरुक्क आएझैँ अब यिनीहरका पछि आउलान जस्तो लाग्दैन किनभने यिनले त जनतालाई सुखी र समृद्ध बनाउँछौँ भन्ने निहुमा बेरोजगार, विदेश पलायन र थातथलो नै बिर्सिएर एक ठाउँबाट अर्को ठाउँ जाने बनाए ।

“टेक्ने जमिन न समाउने त्यान्द्रो” सबै आधार जनताबाट लुटेर नेता र कार्यकर्ताका लागि मात्रै जिउने प्रदेश संरचना बनाएर देश यसरी लुटे जसको बयान यहाँ गरिसाध्य छैन । अब फेरि यौटा पाटीले दुईतिहाई मत ल्याएर शासन चलाएर देश र जनताका लागि केई गर्छ कि त भन्ने विश्वास जनतामा पलाईरा बेलाँ यो प्रचण्डको खेल किन आयो बुझि नसक्नु पो भो त ।

प्रचण्डको देश बनाउने अभियान भन्या लुटपाट, आतंक, काटमार अनि सडक सदन सबैतिर अस्थिरतै अस्थिरता बनाएर सरकारलाई थकाएर गलाएर शासन चलाउँछु भन्ने होला अब ती दिन गए जुन बेला प्रचण्डले जे भन्यो त्यै हुने ।

ऐले जमाना फेरियो कमरेड बरु यी नयाँ दल र नयाँ जेनजीबाट बच्नोस भोलि कुनै दिन लखेटालखेट पारेर बाँच्नै गाह्रो बनाउलान । छँदा खाँदा पाटी के के नै लुट्छु खान्छु भनेर आफ्ना दौँतरीहरलाई वितडा पारेर दशै वर्षाँ माओवादी पाटीको अस्थित्व नै समाप्त पारेर गको जनताले काँ बिर्स्याछनर ?!

त्यसैले तपाईं कुनै पनि बहानाँ जनता अघि जाने हिम्मत नगरे हुन्छ त्यसमा पनि जनतालाई आन्दोलनका लागि सडकाँ उतार्ने त सपनै नदेखे हुन्छ । त्यसैले यो देश बनाउने टिम टुको कुनै काम छैन । पत्याउनोस् नपत्याउनोस् अब तपाईंहरका दिन गए । यो डिजिटल युग हो देश पनि डिजिटल युगले नै चलाउँछ र ती डिजिटल भनेका आजका युवा नै हुन् । कुरा बुझ्नु भो नि !?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.