विश्व समाचार

युद्धविरामपछि पनि अमेरिकी दबाब : हर्मुजमा अमेरिकी सुरक्षात्मक भूमिकाप्रति इरानको कडा आपत्ति

युद्धविराम तथा तनाव कम गर्ने विभिन्न प्रस्तावमा सहमति जनाइए पनि मध्यपूर्वमा अमेरिकी सैन्य सक्रियता र इरानमाथिको निरन्तर राजनीतिक–सैन्य दबाब जारी रहेपछि क्षेत्रीय शक्ति सन्तुलन र राष्ट्रहरूको सार्वभौमिकतामाथि पुनः बहस सुरु भएको छ।

इरानले अमेरिकाले आफूलाई मात्र सम्झौता पालना गर्न दबाब दिँदै आएको तर आफ्नै सैन्य उपस्थिति र हस्तक्षेप भने नघटाएको आरोप लगाएको छ।

इरानले पर्सियन खाडी तथा हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व स्वीकार्य नहुने स्पष्ट गर्दै क्षेत्रीय सुरक्षा सम्बन्धित राष्ट्रहरूले नै सुनिश्चित गर्नुपर्ने आफ्नो पुरानै अडान पुनः दोहोर्‍याएको छ।

इरानका कानूनी तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उपविदेशमन्त्री काजेम गरिबाबादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै हर्मुज जलघाँटीको सुरक्षा कुनै बाह्य सैन्य गठबन्धनले निर्धारण गर्न नसक्ने बताउनुभएको हो।

उहाँले सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलघाँटी इरानको सुरक्षा अवधारणाभित्र पर्ने उल्लेख गर्दै त्यसको सुरक्षा नीति अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले तय गर्न नसक्ने धारणा राख्नुभयो। बहराइनमा आयोजित सम्मेलनले पर्सियन खाडीको कानुनी व्यवस्था वा सुरक्षा संरचना निर्धारण गर्ने अधिकार नराख्ने उहाँको भनाइ थियो।

गरिबाबादीले क्षेत्रीय स्थायित्व विदेशी सैनिक उपस्थितिबाट सम्भव नहुने उल्लेख गर्दै अमेरिकी हस्तक्षेपको अन्त्य, क्षेत्रबाट अमेरिकी सेना फिर्ता, सम्बन्धित मुलुकहरूको सार्वभौमिकताको सम्मान तथा बदलिँदो भूराजनीतिक यथार्थको स्वीकारोक्तिबाट मात्रै दीर्घकालीन शान्ति र सुरक्षा सम्भव हुने बताउनुभयो।

उहाँको भनाइ अप्रत्यक्ष रूपमा अमेरिकाले इरानमाथि निरन्तर प्रतिबन्ध, सैन्य दबाब र चेतावनी जारी राख्ने तर आफ्नै सैन्य उपस्थितिलाई वैध ठान्ने नीतिप्रति लक्षित देखिन्छ।

इरानले यसलाई आफ्नो राष्ट्रिय सार्वभौमिकतामाथिको निरन्तर हस्तक्षेपका रूपमा व्याख्या गर्दै आएको छ। यद्यपि अमेरिका भने आफ्नो सैन्य उपस्थितिलाई अन्तर्राष्ट्रिय समुद्री व्यापारको सुरक्षा, साझेदार राष्ट्रहरूको रक्षा तथा क्षेत्रीय स्थायित्वका लागि आवश्यक भएको तर्क गर्दै आएको छ।

विश्लेषकहरूका अनुसार हर्मुज जलघाँटी विश्वकै सबैभन्दा संवेदनशील सामुद्रिक व्यापारिक मार्गमध्ये एक हो। विश्वमा समुद्री मार्गबाट हुने कच्चा तेल र प्राकृतिक ग्यासको ठूलो हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यहाँ उत्पन्न हुने कुनै पनि सैन्य तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, ढुवानी लागत, बीमा शुल्क र विश्व बजारमा तेलको मूल्यमा तत्काल असर पार्ने गर्दछ।

ऊर्जा आयातमा निर्भर मुलुकहरूको अर्थतन्त्रमा यसको प्रत्यक्ष असर परेको थियो भने अमेरिका स्वयंले पनि बढ्दो इन्धन मूल्य, मुद्रास्फीति र विश्व आपूर्ति शृङ्खलामा पर्ने दबाबको असरबाट पूर्ण रूपमा जोगिन सकेको थिएन।

यही कारण कतिपय अन्तर्राष्ट्रिय विश्लेषकहरूले सैन्य दबाब र शक्ति प्रदर्शनभन्दा कूटनीतिक संवाद तथा पारस्परिक सुरक्षा संयन्त्रलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूका अनुसार हर्मुज जलघाँटीमा स्थायी तनावले कुनै एक देश मात्र नभई सम्पूर्ण विश्व अर्थतन्त्रलाई अस्थिर बनाउने जोखिम रहन्छ।

गरिबाबादीको प्रतिक्रिया बहराइनमा अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)को पहलमा सम्पन्न क्षेत्रीय सुरक्षा सम्मेलनपछि आएको हो। सम्मेलनमा बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनका वरिष्ठ सैन्य अधिकारी सहभागी थिए।

बैठकमा हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाजको निर्बाध आवागमन सुनिश्चित गर्ने, क्षेत्रीय सुरक्षा सहकार्य विस्तार गर्ने तथा विकसित सुरक्षा चुनौतीहरूको सामना गर्न समन्वय बढाउने विषयमा छलफल भएको सेन्टकमले जनाएको छ।

सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले क्षेत्रीय साझेदारहरूसँगको सहकार्यलाई मध्यपूर्वको सुरक्षा र स्थायित्वको आधारका रूपमा व्याख्या गर्नुभएको छ।

सेन्टकमका अनुसार सम्मेलनमा सिरिया र लेबनानका सैन्य अधिकारी पहिलो पटक अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका थिए।

सेन्टकमले मध्यपूर्वमा सूचना आदानप्रदान, मिसाइल प्रतिरक्षा, खतरा पूर्वसूचना तथा आकस्मिक प्रतिकार्य क्षमतालाई थप सुदृढ बनाउन क्षेत्रीय साझेदारहरूसँग सहकार्य जारी रहेको जनाएको छ।

यसैबीच इरानले भने बाह्य सैन्य गठबन्धनको विस्तारले दीर्घकालीन शान्तिभन्दा प्रतिस्पर्धा र अविश्वासलाई थप गहिरो बनाउने चेतावनी दिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.