तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
म्याग्दीको मालिका गाउँपालिकाका एक हजार ३०० भन्दा बढी घरधुरीमा निजी धारा जडान गरेर खानेपानी सुविधा विस्तार गरिएको छ ।
मालिकाको १, २, ३ र ७ नम्बर वडामा पर्ने निस्कोट, रुम, डाडागाउँ र बिम डाडागाउँका एक हजार ३३० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको हो ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक/प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा ‘एक घर, एक धारा’ मार्फत खानेपानी सुविधा विस्तार भएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौचनले जानकारी दिनुभयो ।
“सङ्घीय र प्रदेश सरकार तथा विभिन्न परियोजनामार्फत यसअघि खानेपानी योजना निर्माण भएको ४, ५ र ६ सहित सबै वडाका छुटेकाका घरपरिवार पहिचान गरेर खानेपानी सुविधा विस्तारको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “छुटेकाहरूलाई आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरी शतप्रतिशत घरमा स्वच्छ र सफा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य छ ।”




प्रतिक्रिया राख्नुहोस्