मुहानमा बाढी पसेपछि काठमाडौंमा मेलम्चीको पानी आपूर्ति बन्द
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा वर्षासँगै आएको बाढी र अत्यधिक धमिलो पानीका कारण शुक्रबारदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता वीरबहादुर चन्दका अनुसार निरन्तर वर्षाका कारण मेलम्ची नदीको मुहानमा ठूलो परिमाणमा लेदो, बालुवा र माटो मिसिएर पानी अत्यधिक धमिलो भएपछि प्रशोधन केन्द्रमा गुणस्तरीय रूपमा प्रशोधन गर्न कठिन भएकाले पानीको प्रवाह रोकिएको हो।
उहाँका अनुसार मुहानको पानीको गुणस्तर सामान्य अवस्थामा फर्किएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार काठमाडौं उपत्यकामा पानी आपूर्ति गरिनेछ।
‘वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित तालिकाअनुसार वितरण सुरु गरिनेछ,’ प्रवक्ता चन्दले बताउनुभयो।
यस वर्ष पनि मनसुन सक्रिय भएसँगै मेलम्चीको पानी आपूर्ति प्रभावित भएको हो। यदि निरन्तर वर्षा भइरह्यो भने काठमाडौं उपत्यकामा नियमित पानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने केयूकेएलले जनाएको छ।
मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएयता लगभग हरेक वर्षायाममा यस्तै समस्या दोहोरिँदै आएको छ। भारी वर्षापछि नदीमा आउने बाढीले ठूलो मात्रामा गेग्रान, माटो र लेदो बगाएर ल्याउने भएकाले पानी अत्यधिक धमिलो बन्ने र प्रशोधन मापदण्ड पूरा गर्न नसक्दा आपूर्ति रोक्नुपर्ने अवस्था सिर्जना हुँदै आएको छ।
यसअघि पनि मनसुनका बेला बाढी, पहिरो तथा नदीको बहावमा आएको परिवर्तनका कारण आयोजनाको मुहान, सुरुङ प्रवेशद्वार र पूर्वाधारमा पटक–पटक क्षति पुगेको थियो।
२०७८ सालको विनाशकारी बाढीले मेलम्ची र इन्द्रावती क्षेत्रमा ठूलो क्षति पुर्याउँदा आयोजना लामो समयसम्म बन्द हुनुपरेको थियो। त्यसयता हरेक वर्ष वर्षायाम सुरु भएसँगै सुरक्षाका दृष्टिले पानी आपूर्ति रोक्ने वा सीमित गर्ने अवस्था दोहोरिने गरेको छ।
काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिको मुख्य आधार बनिसकेको मेलम्ची आयोजना बारम्बार मनसुनी जोखिममा पर्नु उपत्यकावासीका लागि समेत ठूलो चुनौती बनेको छ।
मेलम्चीको पानी बन्द हुनेबित्तिकै केयूकेएललाई भूमिगत स्रोत र सीमित वैकल्पिक स्रोतमा निर्भर हुनुपर्ने भएकाले धेरै क्षेत्रमा खानेपानी वितरण तालिका प्रभावित हुने गरेको छ।
विशेषज्ञहरूले मेलम्ची आयोजनालाई हरेक वर्ष दोहोरिने मनसुनी जोखिमबाट जोगाउन मुहान क्षेत्रमा थप संरक्षण संरचना निर्माण, अत्याधुनिक सेडिमेन्ट व्यवस्थापन प्रणाली, पूर्वसूचना प्रणाली तथा दीर्घकालीन जलाधार संरक्षणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। अन्यथा हरेक मनसुनमा काठमाडौंवासीले खानेपानी अभावको उस्तै समस्या झेलिरहनुपर्ने अवस्था अन्त्य हुने देखिँदैन।




प्रतिक्रिया राख्नुहोस्