जन सरोकार

सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गरेर दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कामपा शिक्षा विभागद्वारा शुक्रबार आयोजित ‘शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालय, विद्यार्थी र शिक्षकलाई सम्मान’ कार्यक्रममा उहाँले गुणस्तर सुधारका लागि कामपाले पूर्वाधार विकास, जनशक्ति तथा मानव स्रोत व्यवस्थापनमा लगानी बढाइएको स्पष्ट पार्नुभयो ।

प्रमुख डङ्गोलले भन्नुभयो, “बालबालिकामा भएको अन्तरनिहीत क्षमता चिनाउने शिक्षकहरूको गुण र योगदान अतुलनीय छ । ‘म योग्य छु र ?’, ‘म गर्न सक्छु र ?’ भन्ने विद्यार्थीको भावलाई ‘तिमी योग्य छौँ’, ‘तिमी गर्न सक्छौँ’ भनेर अनुभूति गराउनु, जीवनप्रति प्रोत्साहित गराउनु शिक्षकको योगदान हो ।” उहाँले यो महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभएका शिक्षकलाई मर्यादित पेसा प्रदान गर्न कामपा सदैव तत्पर रहेको बताउनुभयो ।

उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान गर्ने कार्यक्रम २०७९ सालदेखि रोकिएको बताउँदै यस वर्षदेखि पुनः निरन्तरता दिइएको शिक्षा विभागका प्रमुख नमराज ढकालले उल्लेख गर्नुभयो । “आगामी वर्षदेखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालय, शिक्षक र विद्यार्थीलाई पुरस्कार र सम्मानमा जोड्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

यस वर्ष (२०८२) को एसइईमा कामपाको सामुदायिक विद्यालयबाट चार जिपिए प्राप्त गर्ने २९ जना विद्यार्थीलाई जनही रु २५ हजारसहित सम्मानित गरिएको विभागका प्रमुख ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार एसइई परीक्षामा शतप्रतिशत विद्यार्थीलाई ग्रेडेड गर्ने बालसेवा माध्यमिक विद्यालय (झोँछेँ), बाल व्यावसायी केन्द्र माध्यमिक विद्यालय (सिफल), श्रम राष्ट्रिय माध्यमिक विद्यालय (कुमारीगाल) र केन्द्रीय बहिरा माध्यमिक विद्यालय (नक्साल)लाई नगद रु २५ हजारसहित पुरस्कृत गरिएको हो ।

एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्न योगदान पुर्याउने विषयगत शिक्षक सम्मानअन्तर्गत अनिवार्य विषयका पाँच र ऐच्छिक विषयका चार जनालाई जनही रु २५ हजारसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा यस वर्षको एसइईमा सबैभन्दा बढी औसत स्तरीकृत अङ्क प्राप्त गर्ने तीन सामुदायिक र तीनवटा संस्थागत विद्यालयलाई पनि सम्मान गरिएको थियो ।

सामुदायिकतर्फ समान ३.२९ अङ्क प्राप्त गर्ने ज्ञानोदय माध्यमिक विद्यालय र तरुण माध्यमिक विद्यालय तथा ३.२३ अङ्क प्राप्त गर्ने विश्व निकेतन माध्यमिक विद्यालयलाई क्रमशः रु एक लाख, रु ७५ हजार र रु ५० हजार पुरस्कार प्रदान गरिएको विभागका प्रमुख ढकालले जानकारी दिनुभयो ।

बाल सेवा माविका प्रधानाध्यापक मञ्जु पाठकले कामपाबाट प्राप्त सम्मानले आफूहरूलाई शैक्षिक क्रियाकलापप्रति थप जिम्मेवार र उत्साहित बनाएको भन्दै विद्यालयको खुसीमा कामपाको पनि प्रतिष्ठा जोडिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.