शताब्दी पुरुष डा. गौरीशङ्करलाल दासको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शताब्दी पुरुष डा. गौरीशङ्करलाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभएको छ।
काठमाडौँ महानगरपालिका–७ ले आइतबार आयोजना गरेको ‘दिव्य शताब्दी पुरुष डा. गौरीशङ्करलाल दासको रथारोहण एवं सुवर्णपुर सम्मान समारोह–२०८३’ लाई सम्बोधन गर्दै सभापति थापाले डा. दासको सेवा, समर्पण र मानवीय योगदानको उच्च प्रशंसा गर्नुभयो।
उहाँले भारतबाट चिकित्सा शिक्षा हासिल गरी नेपाल फर्किएपछि डा. दासले वीर अस्पतालसहित विभिन्न सरकारी स्वास्थ्य संस्थामा लामो समयसम्म सेवा दिँदै हजारौँ बिरामीको उपचारमा आफूलाई समर्पित गर्नुभएको स्मरण गर्नुभयो।
सभापति थापाले भन्नुभयो, “डा. दासको योगदान अतुलनीय छ। उहाँले जीवनभर स्वास्थ्य सेवामार्फत समाजप्रति पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ। यस्ता व्यक्तित्वको योगदानलाई राष्ट्रले सधैँ सम्मान र स्मरण गर्नुपर्छ।”
उहाँले डा. दासलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेकोमा काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमल हाडा, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण वडावासीलाई धन्यवादसमेत व्यक्त गर्नुभयो।
शताब्दी पुरुष डा. दास नेपालका अग्रज चिकित्सकमध्ये एकका रूपमा परिचित हुनुहुन्छ। उहाँले चिकित्सकीय सेवासँगै जनस्वास्थ्यको पहुँच विस्तार, सेवा–भावमा आधारित उपचार पद्धति र नयाँ पुस्ताका चिकित्सकलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मानिन्छ।
विशेष गरी सीमित स्रोत–साधन भएका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा उहाँको योगदान उल्लेखनीय रहेको चिकित्सक समुदायले बताउँदै आएको छ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पनि डा. दासले काठमाडौँवासीको स्वास्थ्य क्षेत्रमा पुर्याउनुभएको योगदान ऐतिहासिक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “डा. दासले आफ्नो सम्पूर्ण जीवन नागरिकको स्वास्थ्य सेवामा समर्पित गर्नुभएको छ। उहाँको सेवा, इमानदारी र समर्पण महानगरवासीका लागि सधैँ प्रेरणाको विषय रहनेछ।”
समारोहअन्तर्गत शताब्दी पुरुष डा. गौरीशङ्करलाल दासलाई चाबहिलस्थित उहाँकै निवासबाट परम्परागत बग्गीमा रथारोहण गराई विभिन्न स्थानको परिक्रमा गराइएको थियो।
कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा, डा. दासका परिवारजन, आफन्त, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।




प्रतिक्रिया राख्नुहोस्