जन सरोकार

दोस्रो लहर नसकिंदै बजार खुल्यो- सङ्क्रमित बढे

दैनिक तीन हजारको हाराहारीमा संक्रमण पुष्टि हुनुलाई घटेको भन्न नमिल्ने

काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहरमा स्वास्थ्य सुरक्षा मापदण्डका सामान्य नियमहरुको पालना गर्ने गरी निषेधाज्ञा खुकुलो गरिएसंगै कोरोना संक्रमित बढ्न थालेका छन् । जनस्वास्थ्यविदहरुले यसलाई राम्रो संकेत मानेका छैनन् र उनीहरु निषेधाज्ञा खोल्ने बेलै नभएको बताइरहेका छन् ।

सरकारले कोरोना संक्रमितको सङ्ख्या घट्दै गएपछि निषेधाज्ञा खुकुलो पार्दै लगेको तर केही दिनको तथ्यांक हेर्दा स्थिति सामान्य नभएको स्पष्टै देखिन्छ । बुधबार अघिल्लो २४ घण्टामा झन्डै तीन हजार जनामा संक्रमण देखियो । दैनिक दुई हजार जनाको हाराहारीमा संक्रमण झरिसकेको अवस्थामा दैनिक क्रमशः बढ्दै गई तीन हजारको हाराहारीमा पुगेको छ ।

वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे निषेधाज्ञा खुलाउन सरकारले हतार गरेको बताउनुभयो । एक हजार, एक हजार पाँच सयको सङ्ख्यामा घटिसकेको संक्रमण यातायात लगायत बजार पसल खुलेसँंगै बढेको जानकारी गराउँदै उहाँले दैनिक तीन हजारको हाराहारीमा सङ्क्रमण पुष्टि हुनुलाई घटेको भन्न नमिल्ने र जनस्वास्थ्यको मापदण्डबिना चललपहल बढ्नु ठीक नभएको बताउनुभयो ।

दोस्रो लहरको सङ्क्रमण चरमबिन्दुमा पुगेका बेला एक महिना अघि दैनिक नौ हजार चार सयसम्म कोरोना संक्रमित पुष्टि भएको थियो । बुधबार सात हजार ८३५ जनाको पीसीआर र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको थियो । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ९० हजार ९ सय ७४ पुगेको छ ।

अहिले पनि राजधानी काठमाडौं उपयका लगायत नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लाका साथै चितवन, रसुवा, कास्की, झापा, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् ।

देशभर सक्रिय सङ्क्रमित २३ हजार ७ सय ५६ जना रहेका छन् । यसअघि कोरोना अत्यधिक वृद्धि हुँदा देशभर एक लाख १७ हजारसम्म सक्रिय संक्रमित पुगेका थिए । बुधबार काठमाडौँमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना संक्रमित थपिएका छन् । यस्तै देशभरका अस्पतालका आईसीयूमा ५७१ र भेन्टिलेटरमा १६१ जना संक्रमित उपचाररत रहेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार दोस्रो लहरको जोखिम कायमै रहेको समयमा निषेधाज्ञा खुकुलो बन्दा संक्रमण बढेको हुनसक्ने बताउनुहुन्छ । पहिलो लहरमा पनि निषेधाज्ञा खुकुलो बनाएको केही समय संक्रमण बढे पनि पछि घटेको भन्दै उहाँले सरकारले निषेधाज्ञा खुकुलो बनाएपछि जनताले पनि कोरोना गयो भन्ने सोच्छन् । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही हुन जान्छ । त्यसको परिणाम स्वरुप संक्रमण बढ्न जान्छ । पछिल्लो तीन दिन यता संक्रमण बढ्नु पनि त्यसैको परिणाम हुन सक्छ ।

यही आधारमा संक्रमण बढ्दै गएर फेरि ८/९ हजार पुग्यो भने त्यसलाई तेस्रो लहर भन्न सकिने तर संक्रमण घट्ने वा बढ्ने आधार एक दुई हप्तापछिको तथ्यांकलाई विश्लेषण गरेर मात्रै भन्न सकिने उहाँ बताउनुहुन्छ । नेपालमा तेस्रो लहर आउनका लागि डेल्टाबाहेकको नयाँ भेरियन्ट देखिनुपर्ने उहाँको तर्क छ ।

अर्का संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी संक्रमण बढ्नुलाई दोस्रो लहरकै निरन्तरता भएको बताउँदै भन्नुहून्छ ‘डेल्टा भेरियन्ट बढी संक्रामक पनि छ । पछिल्लो केही दिनयता चहलपहल पनि बढेको छ । यसले संक्रमण बढेको हुनसक्छ’ ।

सरकारले दोस्रो लहरमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएको थियो । तर संक्रमण घट्दै गएपछि जारी निषेधाज्ञा असार ८ गतेदेखि केही खुकुलो बनायो । असार १५ गतेदेखि निषेधाज्ञा थप खुकुलो बनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.