अत्याधुनिक यन्त्रबाट फोहर व्यवस्थापन गर्ने गोकर्णेश्वर नेपालकै पहिलो नगरपालिका
स्थानीय तहको निर्वाचन लगत्तै जापान भ्रमणमा गएको गोकर्णेश्वर नगरपालिकाका मेयरसहितको टोलीले फोहर व्यवस्थापन गर्ने अत्याधुनिक यन्त्र स्थापनाका लागि सम्झौता भए अनुसार तीन वर्षअघि भित्रिएको दुई उपकरणमध्ये एक जडान भएको छ । अर्को यन्त्र जडान गर्न बाँकी छ ।

गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका–८ को सीमामा पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको वाग्मती किनारमा सो यन्त्र जडान गरिएको हो ।
नगरपालिकाले तीन वर्षअघि रु पाँच करोडको लागतमा फोहर व्यवस्थापन गर्ने दुईवटा यन्त्र ल्याइएकामा एउटा जडान गरिएको छ । यन्त्र प्राविधिक कारणले जडानमा ढिलाइ भएको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो ।
साउनदेखि नै यन्त्र सञ्चालन शुरु गरी फोहर व्यवस्थापन गरिने उहाँले बताउनुभयो । यन्त्र जडान गरेपछि अत्याधुनिक यन्त्रबाट फोहर व्यवस्थापन गर्ने गोकर्णेश्वर नेपालकै पहिलो नगरपालिका हुने जनाइएको छ ।
यन्त्रले फोहर दहन गर्नेछ । वातावरणमैत्री यन्त्र भएकाले स्वच्छ, सफा नगरपालिका बनाउन सहयोग मिल्ने विश्वास गरिएको छ ।
यन्त्र जडानसँगै सामाजिक चेतना र फोहर वर्गीकरणका लागि कार्यक्रम ल्याउनुपर्ने माग गर्नुहुन्छ वाग्मती सफाइ अभियानकर्मी एवं वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी । यन्त्रलाई बढी प्रभावकारी र उपयोगी बनाउने गरी काम गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।
घरमा नै फोहर वर्गीकरण गर्दा झण्डै ८० प्रतिशत कमी आउने जनाइएको छ । कुहिने फोहरलाई घर बाहिर फाल्न बर्जित गर्ने कानूनको तर्जुमा गर्नसक्दा यन्त्र प्रयोगले सार्थकता पाउने उहाँको भनाइ छ । यसैगरी बिक्री हुने र बिक्री नहुने फोहरको वर्गीकरणलाई अनिवार्य शर्तका रूपमा नगरवासीले स्वीकार गर्ने वातावरण बनाइनुपर्छ ।
कुहिने फोहरबाट मल बनाउने, नकुहिनेमा पनि बिक्री हुने फोहरलाई अलग राख्ने र प्लाष्टिक प्रयोगलाई बर्जित गरेर यन्त्रले धेरै भार खप्नु नपर्ने अभियानकर्मीको सुझाव छ । सुक्खा फोहरका लागि उपयुक्त यन्त्रमा अन्य फोहरले असर पुर्याउन सक्नेतर्फ पनि अभियानकर्मीले सचेत गराएका छन् ।
प्रतिक्रिया राख्नुहोस्