जन सरोकारस्वास्थ्य

चितवनमा ‘पोष्ट कोभिड’का बिरामी बढ्दै

कोभिड निको भएपछि खोकी लागिरहने, स्वास्वा भइरहने जस्ता समस्या लिएर बिरामी आउने गरेका

कोभिड–१९ सङक्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो ।

एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहनुभएका फिजिसियन डा भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुन: परीक्षणका लागि आउने गरेका बताउनुभयो । तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उहाँको भनाइ छ ।

अस्पताल भर्ना नभई घरमै उपचार गरेका पनि समस्या लिएर आउने गरेका उहाँले जानकारी दिनुभयो । पुष्पाञ्जली अस्पतालमा बिरामी परीक्षण गर्ने डा अधिकारीका अनुसार दैनिक यस खालका बिरामी अस्पतालमा आउने गरेका छन् । कोभिड निको भएपछि खोकी लागिरहने, स्वास्वा भइरहने जस्ता समस्या लिएर बिरामी आउने गरेका छन् । परीक्षण गर्दा कोभिड नेगेटिभ देखिने तर लक्षण भने बाँकी नै रहने समस्या देखिने गरेको बताइएको छ ।

उहाँले भन्नुभयो, “कोभिडपछि निमोनिया लामो समयसम्म रहिरहन्छ, छाति सफा हुन समय लाग्छ ।” दमका पुराना बिरामीको पहिलेको भन्दा कोभिडपछि केही जटिल अवस्था हुने गरेको छ । उहाँले भन्नुभयो, “कोभिड पहिले दमको समस्या दुई नम्बर थियो भने कोभिडपछि तीन नम्बर हुने गर्दछ, दम नियन्त्रणमा थियो, त्यही अवस्थामा भएन भनेर परीक्षण गर्न आउने पनि छन् ।”

शरीर गल्ने, आलश्य हुने, खान रुचि नहुने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर गह्रौं हुने जस्ता समस्या लिएर पनि बिरामी आउने गरेका छन् । कतिपय बिरामीले समस्या भएको बताए पनि परीक्षण गर्दा केही पनि नदेखिने गरेको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपयलाई मनोवैज्ञानिक समस्या हुन्छ, कुनै समस्या नभए पनि बिरामी भएको अनुभूति गर्ने गर्दछन् ।”

कतिपय बिरामीलाई कोभिडपछि मधुमेह नघट्ने समस्या पनि देखिने गरेको छ भने कतिपयलाई स्टेरोएड औषधिका कारण रगतमा चिनीको मात्रा बढी हुने गरेको छ । कलेजोको इञ्जाएम बढेर वाकवाकी हुने समस्या लिएर बिरामी आउने गरेका डा अधिकारीको भनाइ छ ।

पोष्ट कोभिडका बिरामीमा फोक्सो सुक्ने र कर्किने समस्या आउने गरेको बताइएको छ । लामो समय अक्सिजन लगाएका बिरामीमा शरीरलाई चाहिने पौष्टिक तत्व कम हुने हुँदा समस्या देखिने गरेको छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरका कोभिड टिमलिडर डा पुकार घिमिरे यस्ता बिरामी नियमित आउने गरेका बताउनुहुन्छ । उपचारपछि पुनः स्वास्थ्य परीक्षण गर्न आउँदा धेरैजसोको फोक्सोमा निमोनिया सुधार भई नसकेको अवस्थामा आउने गरेको बताइएको छ । सुधारोन्मुख हुँदै गर्दा थप केही भइहाल्छ कि भन्ने आशंका लिएर बिरामी आउने गरेका उहाँको भनाइ छ ।

बिरामीलाई थकान महसुस हुने, हातखुट्टा गल्ने, शरीर गलेर काम गर्न नसक्ने, खोकी लागिरहने जस्ता समस्या पनि देखिने गरेको उहाँ बताउनुहुन्छ । पोष्ट कोभिडका बिरामीको फोक्सोमा ढुसीको सङ्क्रमण रहने र त्यसबाट खकारमा रगत आउने समस्या लिएर बिरामी आउने गरेका छन् । मुटुको चाल छिटोछिटो घटबढ हुने समस्या पनि हुने गरेको बताइएको छ ।

चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाईं कोभिडपछि मनोरोगको समस्या लिएर बिरामी आउने गरेका बताउनुहुन्छ । परीक्षणका लागि आउने बिरामीमध्ये १५ प्रतिशत हाराहारी पोष्ट कोभिडका रहेका उहाँको भनाइ छ । ठूला–ठूला घटना देखेपछि डराएर समस्या देखिए जस्तै गरी पोष्ट कोभिडका बिरामी अस्पताल आउने गरेका सेढाईं बताउनुहुन्छ । त्यस्ता बिरामीलाई सम्झाई बुझाई गर्ने र आवश्यक देखिएमा औषधि दिने गरिएको सेढाईंको भनाइ छ ।

चितवन मेडिकल कलेजले पोष्ट कोभिडका बिरामीका लागि छुट्टै उपचारको व्यवस्थापन गरेको छ । सो विभागमा नियमित बिरामी आउने गरेका कलेजले जनाएको छ । जिल्लामा यहाँ भन्दा धेरै बिरामी बाहिरी जिल्लाबाट आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.