नेपाल फर्किने वातावरण बनाउन कानुन आवश्यक : सांसद ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशमा रहेका नेपालीलाई केवल “नेपाल फर्कनुस्” भनेर आह्वान गर्नु मात्र पर्याप्त नभएको भन्दै उनीहरू स्वदेश फर्किएर सम्मानपूर्वक बस्न, लगानी गर्न र रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माणका लागि आवश्यक नीति, कानुन र संरचना तयार गर्नुपर्ने बताउनुभएको छ।
जापानको राजधानी टोकियोस्थित ओदाइबा पार्कमा शनिबारदेखि सुरु भएको १५औँ नेपाल फेस्टिवल २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेका लाखौँ नेपाली मुलुकका महत्वपूर्ण सम्पत्ति भएकाले उनीहरूको अनुभव, सीप, पुँजी र ज्ञानलाई नेपालको विकाससँग जोड्ने दीर्घकालीन नीति आवश्यक रहेको बताउनुभयो।
उहाँले “एकपटकको नेपाली, सधैँको नेपाली” भन्ने अवधारणाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी दृढ रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीको नागरिकता र उनीहरूको अधिकार सुनिश्चित गर्ने कानुनी व्यवस्था बनाउन सरकारले पहल गरे राप्रपाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग जोडिराख्ने नीति आजको आवश्यकता भएको उहाँको भनाइ थियो।
सांसद शाहीले जापानमा कार्यरत नेपालीहरू अत्यधिक कामको चाप, श्रमको दबाब र विभिन्न सामाजिक तथा कानुनी समस्यासँग जुधिरहेको आफूले प्रत्यक्ष रूपमा सुनेको बताउनुभयो।
नेपालका लागि जापानी राजदूत, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा जापानस्थित नेपाली समुदायसँग भेटघाटका क्रममा प्राप्त सुझाव र गुनासालाई नेपाल फर्किएपछि संघीय संसदमा उठाउने प्रतिबद्धता उहाँले जनाउनुभयो।
उहाँले विशेषगरी अध्ययनका लागि जापान आउने नेपाली विद्यार्थीले आर्थिक, मानसिक तथा सामाजिक रूपमा विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उनीहरूको सुरक्षाका लागि सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने बताउनुभयो।
वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि अनिवार्य बीमा व्यवस्था लागू गर्न आफूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग छलफल गरी आवश्यक पहल गर्ने जानकारी पनि उहाँले दिनुभयो।
उहाँले विदेश पलायनलाई रोक्ने सबैभन्दा प्रभावकारी उपाय स्वदेशमै रोजगारी, सुशासन, लगानीमैत्री वातावरण र भविष्यप्रतिको भरोसा सिर्जना गर्नु रहेको उल्लेख गर्दै नेपाली युवाले बाध्यताले होइन, अवसरका लागि नेपालमै बस्ने अवस्था बनाउनुपर्ने धारणा राख्नुभयो।
यस वर्षको नेपाल फेस्टिवल जुलाई १८ देखि २० सम्म टोकियोको ओदाइबा पार्कमा आयोजना गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानसहित विभिन्न नेपाली संघसंस्थाको सहकार्यमा आयोजित फेस्टिवलको उद्देश्य जापानमा नेपाली कला, संस्कृति, भाषा, पर्यटन, हस्तकला र नेपाली परिकारको प्रवर्द्धन गर्नुका साथै जापानी नागरिकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नु रहेको आयोजकले जनाएको छ।
तीन दिनसम्म सञ्चालन हुने फेस्टिवलमा नेपाली सांस्कृतिक झाँकी, लोक तथा आधुनिक सांगीतिक प्रस्तुति, विभिन्न जातजातिको भेषभूषा प्रदर्शन, नेपाली हस्तकला, पर्यटन प्रवर्द्धन सामग्री, मौलिक परिकार तथा नेपाल–जापानबीचको सांस्कृतिक आदानप्रदान झल्काउने विविध कार्यक्रम समावेश छन्। जापानमा रहेका हजारौँ नेपालीका साथै जापानी नागरिकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
उद्घाटन समारोहमा नेपाल र जापानका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रतिनिधि, एनआरएनएका पदाधिकारी, व्यवसायी तथा जापानस्थित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।




प्रतिक्रिया राख्नुहोस्