राजनीति

एमालेका सांसदलाई संसदीय प्रशिक्षण, सरकारमाथि दबाब बढाउने रणनीति

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यसहित आफ्ना सांसदलाई संसदीय प्रशिक्षण दिएको छ।

पार्टीको संसदीय विभागले आयोजना गरेको कार्यक्रममा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास, संसदीय समितिको प्रभावकारी परिचालन तथा सरकारलाई संसदीय माध्यमबाट कसरी जवाफदेही बनाउने भन्ने विषयमा प्रशिक्षण दिइएको विभाग प्रमुख पद्मा अर्यालले जानकारी दिनुभयो।

पूर्वसचिव राईले संसद् सचिवालयको अधिकार, संसदीय समितिको कार्यक्षेत्र तथा समितिमा प्रभावकारी ढंगले उठाउनुपर्ने विषयबारे समेत सांसदलाई जानकारी गराउनुभएको थियो।

यो प्रशिक्षण एमालेले प्रतिनिधिसभा र संसदीय समितिहरूमा निरन्तर आक्रामक भूमिका खेलिरहेका बेला आयोजना गरिएको हो। पछिल्ला बैठकहरूमा एमाले सांसदहरूले बारम्बार अवरोध, विरोध र सरकारमाथि तीव्र आलोचना गर्दै आएका छन्।

विशेष गरी सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक व्यवस्थापन र संवैधानिक निकायहरूको सञ्चालनमा असफल भएको आरोप एमालेले लगाउँदै आएको छ।

एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति पनि कडा आलोचनात्मक धार अपनाउँदै आएको छ। रास्वपालाई अस्थिर राजनीति गर्ने, जनअपेक्षाअनुसार परिणाम दिन नसकेको तथा संसदभित्र जनमुखीभन्दा बढी लोकप्रियतामुखी राजनीति गरेको आरोप एमाले नेताहरूले सार्वजनिक रूपमा दोहोर्याइरहेका छन्।

विश्लेषकहरूका अनुसार संसदमा निरन्तरको अवरोध र आक्रामक प्रस्तुति केवल संसदीय विरोधमा सीमित नभई आगामी राजनीतिक समीकरण, जनमत निर्माण तथा आफूलाई प्रमुख प्रतिपक्षका रूपमा अझ सशक्त ढंगले स्थापित गर्ने एमालेको दीर्घकालीन रणनीतिको हिस्सा हो।

संसदीय प्रक्रियाबारे सांसदलाई दक्ष बनाउँदै सरकारमाथि तथ्य र प्रक्रियाका आधारमा दबाब सिर्जना गर्ने उद्देश्यले यस्तो प्रशिक्षण आयोजना गरिएको ठानिएको छ।

यससँगै एमालेले सडक र संसद दुवै मोर्चाबाट सरकारविरुद्ध दबाब बढाउने तथा आगामी राजनीतिक एजेन्डालाई अझ व्यवस्थित रूपमा अघि बढाउने संकेत गरेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.