‘सन्तनेता’को उपाधि इतिहासमा सधैं अमिट रहने : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई नेपाली जनताले दिएको ‘सन्तनेता’को उपाधि इतिहासमा सधैं अमिट रहने बताउनुभएको छ।
नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा उहाँले प्रजातन्त्र, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको स्थापनाका लागि भट्टराईले पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप जनताले उहाँलाई ‘सन्तनेता’को उपाधि दिएको उल्लेख गर्नुभयो।
सभापति थापाले भट्टराईले आजीवन सत्ता र व्यक्तिगत लाभभन्दा सिद्धान्त, नैतिकता, त्याग र इमानदार राजनीतिलाई प्राथमिकता दिएको स्मरण गर्दै उहाँको जीवन नयाँ पुस्ताका राजनीतिज्ञका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो।
उहाँले लोकतान्त्रिक आन्दोलनमा पटक–पटक जेल जीवन बिताएका भट्टराईले २०४६ सालको जनआन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गर्दै बहुदलीय प्रजातन्त्रको संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक, पूर्वसभापति तथा दुई पटक प्रधानमन्त्री हुनुभएको थियो। उहाँ २०६७ फागुन २० गते ८६ वर्षको उमेरमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उहाँको सरल जीवनशैली, स्वच्छ छवि, नैतिक आचरण र सत्ताप्रतिको अनासक्तिका कारण नेपाली राजनीतिमा उहाँलाई ‘सन्तनेता’का रूपमा सम्मान गरिन्छ।
सोही अवसरमा सभापति थापाले पार्टीको आगामी महाधिवेशनदेखि ३० वर्षभन्दा कम उमेरका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले युवाको सक्रिय सहभागिताबाट मात्र पार्टीलाई थप गतिशील बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।
फरक प्रसंगमा उहाँले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दल मिलेर सरकार बनाउने अभ्यास लोकतान्त्रिक प्रतिस्पर्धाको मर्मअनुकूल नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले स्वस्थ राजनीतिक प्रतिस्पर्धा र प्रभावकारी प्रतिपक्ष लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक रहेको बताउनुभयो।




प्रतिक्रिया राख्नुहोस्