जल/वातावरण

बारामा जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मी गरी एकैपटक ४६ जनामा कोरोना संक्रमण

केही दिनयता कोरोना संक्रमितको संख्यामा कमी आएको तथ्यांक बाहिरिइरहेका बेला सोमबार बारामा एकैपटक ठूलो संख्यामा संक्रमित भेटिएका छन् । पछिल्लो समय स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा देवताल गाउँपालिकाका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय छन् ।

एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले देवताल गाउँपालिकामा निषधाज्ञा जारी गरेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले दिएको जानकारी अनुसार ७४ वटा नमुना परीक्षण गर्दा ११ जना महिला र ३५ जना पुरुष गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ रहेका छन् । देवताल गाउँपालिकाका क्वारेन्टिन ईन्चार्ज शिव साहका अनुसार सबैको स्वाब एकै ठाउँमा संकलन गरिएको थियो ।

साहका अनुसार गाउँपालिकाको क्वारेन्टिन असार २३ गतेबाट बन्द भएपछि अन्तिम पटक जनप्रतिनिधि र स्वास्थ्यकर्मी सबैको पीसीआर गराउँ भनेर गराएका र ७१ जनाको स्वाब पठाएकोमा ४६ जनाको पोजेटिभ आएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले संक्रमितलाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी भईरहेको जानकारी दिनुभएको छ ।

उता पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक जना पेड पीसीआर गराएका, एक जना आरडिटी पोजेटिभ र दुई जना कुमु होटलमा पेड क्वारेन्टिन बस्दै आएका व्यक्ति भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.