नेपाल क्रिकेट संघका सचिव तथा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक सम्मेलनमा नेपाललाई छिट्टै टेष्ट राष्ट्र बनाउने प्रतिबद्धतासहित नेपालको क्रिकेट यात्रा र भविष्यको दृष्टिकोण प्रस्तुत गर्नुभएको छ ।
पारसले डिभिजन ५ देखि एकदिवसीय मान्यता, विश्वकप यात्रा हुँदै एनपीएलको सफलतादेखि महिला क्रिकेटको प्राथमिकता, संरचनागत सुधार र टेस्ट राष्ट्र बन्ने महत्वाकांक्षा सम्मका विषयमा आफ्ना विचार राख्नुभएको थियो ।
नेपाली क्रिकेट विकासको स्लाइड शो समेत गर्नुभएका पारसले जलवायु परिवर्तनको सन्दर्भ पनि छुटाउनुभएन । उहाँले एनपीएलको ट्रफीमा माउण्ट एभरेस्टको ढुंगा राखिएको प्रसंग उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले विश्वलाई सन्देश दिन खोज्यौं कि जलवायु परिवर्तन गम्भीर समस्या हो र नेपाल त्यसको केन्द्रमा छ। क्रिकेटमार्फत पनि यस्तो सन्देश फैलाउन सकिन्छ।”
अन्तर्राष्ट्रिय स्तरमा नेपालले पछिल्ला वर्षमा हासिल गरेका उपलब्धिहरू पनि पारसको भाषणमा प्रमुख विषय थियो । उहाँले भन्नुभयो, ‘हामीले दुईवटा विश्वकप खेलेका छौं, एसिया कप खेल्यौं, सन् २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले मात्र हार्यौं। डलासमा ८ हजार नेपाली दर्शक उपस्थित थिए, जसले हाम्रो शक्ति देखायो।’
सम्बोधनका क्रममा नेपाल क्रिकेटको इतिहास स्मरण गर्दै पारसले आफूले करिब दुई दशक नेपाली टोलीलाई डिभिजन फाइभबाट लिएर ओडीआई राष्ट्रसम्म पुर्याएको र अहिले जहाँ आइपुगेका छौं, त्यो अविश्वसनीय छ र हाम्रो यात्रा रोकिँदैन, तर योजनाबद्ध रूपमा अघि बढ्नु जरुरी रहेको बताउनुभयो ।
सचिव खड्काले नेपाल प्रिमियर लिग (एनपीएल)लाई नेपाली क्रिकेटको रूपान्तरणकारी क्षणका रूपमा वर्णन गर्दै एनपीएल केवल नेपालभित्र सीमित नरही अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आठ फ्रेन्चाइज स्थानीय लगानीकर्ताले सञ्चालन गरे, शिखर धवन र जिमी नीशमजस्ता स्टार खेलाडी आए। ब्रायन लाराजस्ता महान व्यक्तित्व नेपाल आए। जिमी नीशमले आफ्नो पहिलो फ्रेन्चाइज टाइटल नेपालमै जिते।”
आईसीसीको पूर्ण सदस्य बन्नका लागि महिला क्रिकेट महत्वपूर्ण रहेको बताउँदै भन्नुभयो, “महिला क्रिकेटलाई हामीले प्राथमिकतामा राखेका छौं। पहिलो पटक ग्लोबल क्वालिफायरमा पुगेका छौं। अब पछाडि फर्कने कुरा छैन ।”
त्यस्तै सरकारले क्रिकेट विकासका लागि देखाएको चासो र विनियोजन गरेको बजेटबारे पनि पारसले सम्मेलनमा उठाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले पहिलो पटक खेलकुद बजेट दोब्बर बनाएको छ। पहिलो अन्तर्राष्ट्रिय स्तरको फ्लडलाइटसहितको स्टेडियम बन्ने तयारी भइरहेको छ। हामीले घरेलु क्रिकेटमा रेड बल फर्म्याट सुरु गरिसकेका छौं। फ्रेन्चाइज क्रिकेटले पैसा ल्याउँछ, तर टेस्ट क्रिकेटतर्फ पनि ध्यान दिन जरुरी छ।”
नेपाली क्रिकेटको भविष्यको लक्ष्य बताउँदै पारसले भन्नुभयो, “हामीसँग समर्थक छन्, सरकार र आईसीसीको समर्थन छ। हामी वेस्ट इन्डिजसँग पहिलोपटक सिरिज खेल्दैछौं। नेपाल छिट्टै टेस्ट राष्ट्र बन्नेछ—यो हाम्रो सपना मात्र होइन, हाम्रो प्रतिबद्धता हो।”
भिडियो –




प्रतिक्रिया राख्नुहोस्